केही अघिको कुरा हो, एक आमाले छ वर्षिय छोरा लिएर अस्पताल गइन्। उनले डाक्टरलाई भनिन्, यो दुब्लाएको छ। बारम्बार बिरामी भइरहन्छ। खाना पनि खान मन गर्दैन। बिरामी भनेर स्कूल पनि पठाएको छैन। किन यस्तो भएको होला ? “आमाले डाक्टरसँग कुरा गरिरहँदा बच्चा यताउता टुकुटुकु गरिरहेको थियो। आमालाई बोल्न नदिने आमाको मुख आफूतिर फर्काउने आदि कोशिस गरिरहेको थियो। डाक्टरले यसले के खान्छ ? भनेर सोधे। आमाले, “भात दाल, तरकारी त यसको घाँटीबाट नै छिर्दैन। मिठाइ, चाउचाउ, चकलेट, बरफ चिसो पेय आदि मात्र मन गर्छ। भात नखानेलाई यति दिंदा कमसेकम यसले रुचाएका केही खानेकुरा त पर्छ भनेर दिन्छु। चकलेट र चाउचाउ खाए पनि यो त बिरामी भइरहन्छ, के गर्ने होला ?”


आमाले थाहा नै नपाइकन बच्चालाई धेरै चिनी भएको वस्तु दिएकी थिइन्। यसले गर्दा बच्चाको त रोगसँग लड्ने शक्ति नै कम भएर ख्वाउटे भएको रहेछ। मिठाइ र चिसो पेय मायाको प्रतीक होइन भन्ने कुरा डाक्टरले बुझाएपछि उनी छानाबाट खसे झैं भइन्।
बढी चिनी र पत्रु खानाले पोषणको कमि भएकाले छोरा दुब्लाएको रहेछ भन्ने थाहा पाइन्। ‘मिठाइ, चकलेट, जस्ता पत्रु खाना खुवाउन छोड्नुस् र घरमा जे पाक्छ त्यही खुवाउने बानी गर्नुस्। कुनै औषधि खानु पर्दैन। हरिया तरकारी र फलफुल खुवाउन जोड गर्नुहोस्। जंक फुड / मिठाइखुवाउने हो भने औषधि गरेर मात्र केही हुँदैन’ भनेर चिकित्सकले सल्लाह दिए।


पत्रु खाना बनाउने मिठाइहरू पकाउने ठाउँमा गएर उपभोक्ताले कहिले पनि हेरेका हुँदैनन्। बाहिरपट्टि जे देखिन्छ त्यही राम्रो प्याकेटका खानेकुरार मिठाइ किनेर खाने चलन छ।

विश्व स्वास्य सङ्गठनका अनुसार एक वयस्कले एक दिनमा तीनदेखि पाँच चम्चा मात्र चिनी प्रयोग गर्नसक्छ। तर वास्तविक जीवनमा त हामीले धेरै नै प्रयोग गरिरहेका हुन्छौँ।

उदाहरणको लागि दिनमा तीन कप चिया खाइयो भने एक कप चियामा दुई चम्चा हाले पनि छ चम्चा चिनी त यसै पनि भइहाल्यो। यदि त्यसमाथि मिठाइ पनि खाइयो भने त कति चम्चा चिनी होला ? अनि बिस्कुट, सर्वत खाने गरिन्छ। यसरी बनाएको बिस्कुटहरू कस्ता गुणस्तरका हुन्छन् भन्ने कुरा प्रायः हामीलाई थाहा नै हुँदैन।


चिनी र मैदा हालेर बनाएको बिस्कुट यसै पनि हानीकारक हुन्छ। त्यसमा पनि कुहिएको वा ढुसी परेको नरिबल वा अन्य वस्तु मिसाइएको हुन्छ। ढुसी लागेको खानेकुराले कलेजोमा असर गर्छ। आज खाएर भोली नै केही समस्या नपर्ने हुनाले मानिसहरूलाई यसरी गुलीयो धेरै हालेको पदार्थ , नदेखिने हुनाले ढुसी लागेको पर्दार्य खाएपछि विरामी परिन्छ भन्ने पनि थाहा हुँदैन्।

नेपाली युवायुवतीलाई भ्रम उत्पन्न गर्ने आक्रामक प्रचार गर्दै आएको छ, इनर्जी ड्रिंक। कतिपयले कोसेली पनि लैजान्छन्। 4यसलाई यो शक्तिबद्र्धक पेय वस्तुको रुपमा व्यापक प्रचार प्रसार गरिएको छ। युवा युवतीलगायत प्रायः सबै उमेर तथा बिरामी, खेलाडी, कामदारलगायत विविध वर्ग र क्षेत्रका मानिसहरू अहिले यो पेय पदार्थलाई एउटा लाभदायक पेय वस्तु हो भन्ने भ्रममा छन् र व्यापक रुपमा उपभोग गरिरहेका छन्। यसले शरीरमा कति धेरै हानी छ भन्ने कुरा आम उपोक्ताहरूले बुझेका छैनन्। यस पेयमा प्रशस्त मात्रामा चिनी हुन्ने भएकाले यसले केही शक्ति दिए जस्तो हुन्छ। थाकेको बेला यस्तो पेय पदार्थ पिउँदा केही क्षण परिवर्तनको महसुस भए पनि यसले बरु स्वास्थ्यमा विभिन्न किसिमका समस्या उत्पन्न गर्ने अध्ययनकर्ताहरूको भनाइ छ। बरिष्ठ वाल रोग विशेषज्ञ डा विष्णु पण्डितका अनुसार वालालिकालाई इनर्जी ड्रिंक मात्र होइन, हाल हाम्रो बजारमा प्रचलित विभिन्न ब्राण्डका सफ्ट ड्रिंक पनि स्वास्थ्यका दृष्टिले राम्रा छैनन्।


यस्ता पेय पदार्थका कारण बच्चाहरूमा खाना रुची कम हुन्छ र उनीहरूलाई आधारभूत इनर्जी पुग्दैन, चिनीको मात्रा बढी हुने हुनाले मोटोपन र डायविटिजको सम्भावना बढ्रछ।


अमेरिकाको न्यूयोर्क युनिभर्सिटीका अध्ययनकर्ता तथा फुड स्टडी एवं पब्लिक हेल्थका प्रोफेसर नेस्टलेका अनुसार अहिले अत्यन्तै प्रभावकारी मार्केटिङबाट यस्ता पेय पदार्थ किन्न उपभोक्तालाई लोभ्याउने पार्ने गरिन्छ।
उत्पादकहरूले अहिले विज्ञापनमा धेरै खर्च गर्छन्। यो पैसा पनि उपभोक्ताले नै तिनुपर्छ। यस्ता खाद्य पदार्थका उत्पादकहरूले अहिले कम र मध्यम स्तरको आम्दानी भएका देशहरूमा यस्ता वस्तुहरको विक्री बृद्धि गर्ने लक्ष्य राखेका छन्। किनभने यी देशहरूमा बढी नाफा कमाउन सकिन्छ, विशेषगरी केटाकेटीहरूलाई लोभ्याएर।

(यस लेख डा अरूणा उप्रेतीका निजी विचार हुन् )