ओलीले शेखरलाई, देउवाले केपीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि
नेपाली राजनीतिमा नयाँ ठूलै ‘उथलपुथल’ नभए यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदको विश्वासको मत नपाएर पदमुक्त हुनेछन् ।
साे पछि कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावमा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुनेछन् ।
शेखर समूहले देउवाले वार्ताकार गतिला नछान्दा र आफ्नो भूमिका नजरअन्दाज गरी ओलीलाई सरकारको नेृत्वको भाग्य खुलेको तर्क राख्न थालेका छन् । ओलीले शेखर कोइरालालाई प्रधानमन्त्री प्रस्ताव गरिसकेको र देउवाका दूतहरूका कमजोरीले ओली प्रस्तावित भएको जिकिर उनीहरुको छ ।
“यो सहमति मान्दैनौँ भन्ने कुरा पनि होइन । सभापति देउवाले गरेको कुरामा विरोध जनाएको पनि होइन,” शेखर समूहका एक नेताले भने, “तर, ओलीजीले कांग्रेसलाई प्रधानमन्त्री प्रस्ताव गर्नुभएको थियो ।
नागरिकमा पटक–पटक प्रधानमन्त्री भएका व्यक्तिप्रति वितृष्ण बढाउने काम भइरहेकाले परीक्षण नभएका शेखर कोइराला प्रधानमन्त्री बन्नुस् समेत भन्नुभएको थियो ।”
ती नेताका अनुसार, देउवाले कमजोर ‘डिल’ गर्ने नेताहरू पठाउँदा त्यसले ओलीलाई प्रधानमन्त्री बनाइदिएको उनको बुझाई छ ।
संस्थापन इतर समूहका मुद्दा नरुचाएका देउवा एकाएक ओलीसँग गोप्य समझदारी प्रक्रियामा छन् । इतर समूहकै मुद्दा बोक्दै देउवा–ओलीबीच सात बुँदे सम्झौता भएको छ । यद्यपि उनीहरूबीचका लिखित दस्तावेज सार्वजनिक भइसकेको छैन
सभापति देउवाका तर्फबाट नेपाली कांग्रेसका नेताहरू ज्ञानेन्द्रबहादुर कार्की र रमेश लेखकले ओलीसँग वार्ता गरेका थिए । ती नेताहरूले आफ्नो नेतृत्वमा सरकार गठनको प्रस्ताव नै नलगेका कारण ओली प्रधानमन्त्री बन्न लागेका हुन् ।
“सहकार्य गरौं, हामी सरकारको नेतृत्व गर्छाै तपाईंहरू सहभागी भइदिनुहोस् भनेर उहाँहरूले प्रस्ताव गर्नुभएन । सिँधै तपाईं प्रधानमन्त्री बन्नुस् हामी समर्थन गर्छौ भन्नुभएछ,” ती नेताले भने, “त्यसपछि ओलीजीले म बन्दिनँ, कांग्रेस नै बनोस् भन्ने कुरा भएन । उहाँ नै बन्नुहुने भयो ।”
ओलीसँग वार्तामा सहभागीसमेत रहेका ती नेताका अनुसार, दाहाल नेतृत्व विस्थापित गरी ओलीले शेखरलाई प्रधानमन्त्री बनाउने वचन दिएका थिए ।
त्यो समूहले संविधानमा पुनरवलोकन गर्दै गर्दा मिश्रित निर्वाचन प्रणालीका कारण शासकीय व्यवस्थामा उठेका प्रश्नको सम्बोधन हुनुपर्ने, संघीयता कम खर्चिलो बनाउनेबारे छलफल र बहसमार्फत् संविधानमा सुधार गर्नुपर्नेसहितका विषय पनि उनीहरूले उठाइरहेका थिए