विराटपाटी समाचारदाता विराटनगर, २५ असोज। विराटनगर आँखा अस्पतालले एक वर्षमा ६ लाख ८८ हजार ४४६ जनाको आँखा परीक्षण गर्नुका साथै ६९ हजार ९३७ जनाको शल्यक्रिया गरेको छ।

अस्पतालको २०औँ वार्षिकोत्सवका अवसरमा सार्वजनिक वार्षिक प्रगति विवरणअनुसार विद्यालयमा आधारित कार्यक्रममार्फत २६९ विद्यालयका ४६ हजार ८३६ बालबालिकाको आँखा परीक्षण गरिएको छ। समस्या देखिएका बालबालिकालाई निःशुल्क चस्मा र औषधि तथा सहुलियतमा शल्यक्रिया सेवा उपलब्ध गराइएको अस्पतालले जनाएको छ।

अस्पतालले ग्रामीण क्षेत्र र विपन्न समुदायलाई लक्षित उपचार कार्यक्रमसँगै विशेषज्ञ सेवा र दक्ष जनशक्ति उत्पादनलाई समेत प्राथमिकता दिँदै आएको छ।

वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि प्रा. डा. चेतराज पन्तले पूर्वी नेपालमा आँखा उपचार सेवा विस्तारमा अस्पतालको योगदान महत्त्वपूर्ण रहेको बताए। कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. ललित अग्रवालले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए।

समारोहमा दीर्घ सेवा पदक, खेलकुद पुरस्कार तथा आँखा दान प्रमाणपत्र वितरण गरिएको थियो।