लुतो फाल्नुकाे महत्त्व
आज साउन १ अर्थात नेपाली गाउँ घरमा लुतो फाल्ने दिन । आजको दिनमा साउने संक्रान्ति पर्व पनि मनाइन्छ । वर्षभरका संक्रान्तिमध्ये साउन र माघ गरी दुई वटालाई महत्वका साथ लिइन्छ ।
असारभर गरिने खेतीपातिका क्रममा हिलोका कारण छालामा कुनै रोग नलागोस् भन्दै लुतो फाल्ने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ । लुतो उधुम चिलाउने चर्म रोग हो । लुतो फाल्ने चलन शहरमा भने हराउँदै गएको छ । तर पहाडी क्षेत्रमा अहिले पनि प्रचलनमा छ ।
लोकोक्ति अनुसार केटाकेटीलाई दुःख दिने रातमा हिंड्ने कण्डारक नामको राक्षसलाई मन्सिएर बलिरहेको अगुल्टो वारि गाउँले, पारि गाउँले लुतो लैजाऔं भनेर कराउँदै फाल्ने प्रचलन छ ।
साँझमा अगुल्टो फाल्दा त्यससँग कुरिलो, पैयाको हाँगा, तितेपाति पनि फाल्ने गरिन्छ । अनि घरको निरालमा भलायोका पात, कुस आदि राख्ने चलन कायमै छ । कतै भाण्टालाई दुलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकरा पाइने जनविश्वास छ ।
साउन महिनाभरी अन्तन्त वर्ष हुने भएकाले यसलाई ‘पावस ऋतु’ पनि भनिन्छ, कृषि प्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ प्रचलन कथन अनुसार असार महिनाभर गरिएको खेतीपातिका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी आजको दिन भोज खाने गर्दछन् ।
महिलाहरु साउने संक्रान्तिका दिनदेखि एक महिना हरियो चुरा र मेहन्दी लगाउँदै शिवलाई प्रसन्न पार्न सोमबारे ब्रर्त बस्ने प्रचलन समेत रहेको छ ।
साउने संक्रान्तिपछि नेपालमा चार्ड पर्वको लहर सुरु हुन्छ
आजको दिनदेखि अयन परिवर्तन भएर दक्षिणायन सुरु भएकाले पर्वको लहर सुरु भएको हो । देवताको उत्तरायणमा दिन र दक्षिणायनमा रात हुन्छ भन्ने मान्यता छ
पछिल्लो समय लुतो फाल्ने प्रचलन हराउँदै जान थालेको छ । पुरानो पुस्तालाई यसबारे जानकारी भए पनि नयाँ पुस्ताले यसको महत्व बुझ्न सकेका छैनन् ।
परम्पराअनुसार लुतो फाल्दा काग भलायो, कुकुरदाइनो, लुतेझार, पानीसरो, रातपाते जस्ता औषधीजन्य गुण बोकेका वनस्पति खोजिन्थ्यो । यसका साथै कागती, अम्बा, अनार, नसपाति आदी फलफूलसहित कण्डारक नामक राक्षसको पूँजागरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याकिन्थ्यो ।
तर अहिलेको पुस्ताले औषधीजन्य गुण भएका वनस्पति चिन्नै गाह्रो छ । जसले गर्दा परम्परागत संस्कृति संकटमा पर्दै गएको छ ।
वास्तवमा लुतो फाल्ने परम्परा जैविक विविधताको रक्षासँग जोडिएको छ । लुतो फाल्ने प्रचलनकै कारण ती औषधीजन्य गुण भएका वनस्पतिको संरक्षण भयो
तर जुन परम्परा र संस्कृतिको महत्व कम हुँदै गयो, ति वनस्पति पनि हराउँदै जान थाले त्यसैले लुतो फाल्ने प्रचलनलाई औषधीजन्य गुण भएका वनस्पति जोगाउने र थप वृद्धि गर्नेगरी जोड्न र महत्व बढाउन आवश्यक छ