उचाइले चोर्यो ध्यान: रोममा मेलोनी–चापो भेटघाट भाइरल
२०८२ पुष ३, बिहीबार १२:०३
रोमस्थित पालाज्जो किजी ,पुस ३ बिहीबार ,रोममा इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी र मोजाम्बिकका राष्ट्रपति ड्यानियल चापोबीचको भेटघाट कूटनीतिक एजेन्डाभन्दा बढी एक अनौठो दृश्यका कारण चर्चामा आएको छ। कारण—दुवै नेताबीचको अत्यधिक उचाइ अन्तर।
पालाज्जो किजीमा भएको औपचारिक स्वागत समारोहमा करिब ५ फिट २ इन्च उचाइकी मेलोनी ६ फिट ८ इन्च अग्ला राष्ट्रपति चापोसामु उभिँदा क्यामेराले रोचक क्षण कैद गर्यो। माथितिर हेर्दै हल्का मुस्कानसहित केही भनेजस्तो देखिएकी मेलोनीको त्यो भाव सामाजिक सञ्जालमा भाइरल बन्यो।
फोटो सेसन झन् चुनौतीपूर्ण बन्यो। एउटै फ्रेममा दुवै नेता अटाउन फोटोग्राफरहरू घुँडा टेक्दै, कतिपय त भुइँमै बसेर तस्बिर खिच्न बाध्य भए।
यही दृश्यले औपचारिक भेटलाई अनायासै मानवीय र मनोरञ्जक क्षणमा बदलिदिएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ।




