पूर्वराजा ज्ञानेन्द्रको सन्देश : विपद् पुनर्निर्माणदेखि राष्ट्रिय स्वाभिमानसम्म
२०८३ आश्विन ३०, शुक्रबार १८:५९
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँको शुभकामना सन्देशमार्फत राष्ट्रिय एकता, आत्मनिर्भरता र स्वाभिमानलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
शुक्रबार निर्मल निवासबाट जारी सन्देशमा उनले यस वर्षको वर्षायाममा भोटेकोसी, बूढीगण्डकीलगायतका नदीमा आएको बाढी र अविरल वर्षाले पुर्याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
विपद्बाट प्रभावित नागरिकको शीघ्र पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। विपद्का जोखिम न्यूनीकरण गर्न पूर्वतयारी, सावधानी र प्रकृतिको सन्तुलन संरक्षणमा विशेष ध्यान दिन पनि उनले आग्रह गरेका छन्।
पूर्वराजा शाहले पुनर्निर्माणका लागि बाह्य सहयोग आवश्यक परे पनि त्यस क्रममा राष्ट्रिय स्वाभिमान र स्थानीय परम्पराको संरक्षण हुनुपर्नेमा जोड दिएका छन्।
उनले दुःखलाई शक्तिमा र निराशालाई आशामा बदल्दै राष्ट्रिय एकता, आत्मनिर्भरता र स्वाभिमान सुदृढ बनाउनुपर्ने सन्देश दिएका छन्।




