पुर्व प्रधानमन्त्री इमरान–बुशरा प्रकरण: तोसाखाना मुद्दामा १७/१७ वर्ष कैद
२०८२ पुष ५, शनिबार १८:५१
एजेन्सि पुस ५ शनिबार ,पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बिबीलाई सरकारी उपहार दुरुपयोग गरेको अभियोगमा १७–१७ वर्षको जेल सजाय सुनाइएको छ।
इस्लामाबादको विशेष अदालतले शनिबार सुनाएको फैसलाअनुसार उनीहरूले तोसाखानाका महँगो उपहार व्यक्तिगत फाइदामा प्रयोग गरेको ठहर गरिएको छ।
सन् २०२१ मा साउदी युवराजबाट प्राप्त करिब ८० करोड रुपैयाँ मूल्यको गहना इमरानले केवल २ करोड ९० लाख रुपैयाँमा खरिद गरेको आरोप अदालतले प्रमाणित गरेको जनाएको छ
यो फैसला रावलपिन्डोस्थित अदियाला जेलमै सुनाइयो, जहाँ इमरान खान पहिलेदेखि नै अर्को भ्रष्टाचार मुद्दामा १४ वर्षको सजाय भोगिरहेका छन्।
नयाँ सजाय पुरानो कैद अवधि सकिएपछि मात्र लागू हुने पाकिस्तानका सञ्चारमन्त्री अताउल्लाह तारारको भनाइ उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यम डनले जनाएको छ।
अदालतले दुवै जनालाई १६ करोड ४० लाख रुपैयाँ जरिवाना पनि तोकेको छ, जरिवाना नतिरे थप कैद हुनेछ।
यस फैसलाप्रति इमरानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) ले कडा आपत्ति जनाएको छ। बन्द कोठामा गरिएको सुनुवाइलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै पार्टीले निष्पक्ष न्याय नभएको दाबी गरेको छ।
इमरान खान सन् २०२३ अगस्टदेखि जेलमा छन् र उनीविरुद्ध आतंकवादसम्बन्धी लगायत अन्य मुद्दाहरू पनि विचाराधीन छन्।




