सर्लाही पुस १४ साेमबार , झुठो विवरणका आधारमा नागरिकता जारी गराउन सहयोग गरेको आरोपमा सर्लाहीको मलङ्गवा नगरपालिका–७ का वडा अध्यक्ष मो. इशा मिकरानी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार मिकरानीलाई नागरिकतासम्बन्धी कसूर मुद्दामा आइतबार दिउँसो नियन्त्रणमा लिइएको हो। उनले रामविश्वास रायलाई गलत विवरण पेश गरी नागरिकता दिलाउन भूमिका खेलेको आरोप छ।

यस घटनामा वडाध्यक्ष मिकरानीको संलग्नता देखिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले यसअघि नै अनुसन्धान गर्न निर्देशन दिएको थियो। सोही आधारमा प्रहरीले पक्राउ गरी आइतबार नै सर्लाही जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार नागरिकता जस्तो संवेदनशील विषयमा भएको अनियमितताबारे थप तथ्य संकलन भइरहेको छ।