अति–उच्च गतिको यात्रातर्फ चीनको छलाङ
२०८२ पुष १६, बुधबार ०७:०२२ सेकेन्डमै ७०० किमि/घन्टा : म्याग्लेभ प्रविधिमा नयाँ युगको संकेत

चिन हुनान प्रान्त चाङ्सा पुस १६,चीनले अति–उच्च गतिको यातायात प्रविधिमा विश्वलाई चकित पार्ने सफलता हासिल गरेको छ।
नेशनल युनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले विकास गरेको एक टन क्षमताको म्याग्नेटिक लेभिटेसन (म्याग्लेभ) परीक्षण वाहनले २ सेकेन्डभन्दा कम समयमा ० देखि ७०० किलोमिटर प्रतिघन्टा गति हासिल गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेको छ।
४०० मिटर लामो विशेष प्रयोगात्मक ट्र्याकमा गरिएको यो परीक्षणको भिडियो चाइना सेन्ट्रल टेलिभिजन (CCTV) मार्फत सार्वजनिक भएपछि उक्त उपलब्धि औपचारिक रूपमा पुष्टि भएको हो। छोटो दूरीमै यति तीव्र गति हासिल गर्नु मात्र होइन, सुरक्षित रूपमा नियन्त्रण र रोक्न सफल हुनु यस प्रविधिको अर्को महत्वपूर्ण पक्ष हो।
अनुसन्धान टोलीका अनुसार, सुपरकन्डक्टिङ इलेक्ट्रिक म्याग्लेभ प्रणालीले उच्च–क्षमता ऊर्जा नियन्त्रण, उन्नत विद्युत–चुम्बकीय प्रोपल्सन र शक्तिशाली सुपरकन्डक्टिङ चुम्बक प्रविधिमा चीनको दह्रो पकड प्रमाणित गरेको छ।
विशेषज्ञहरू भन्छन्, यो उपलब्धि भविष्यमा भ्याकुम पाइपलाइनमा आधारित म्याग्लेभ यातायात प्रणाली विकासका लागि आधार बन्न सक्छ। यसका साथै, अन्तरिक्ष प्रक्षेपणमा सहायक प्रणाली, अति–उच्च गति परीक्षण प्लेटफर्म तथा रक्षा प्रविधिमा समेत यसको प्रयोगात्मक सम्भावना देखिन थालेको छ।
विश्वभरका वैज्ञानिक तथा प्रविधि विश्लेषकहरूले चीनको यो सफलता भविष्यको यातायात र अन्तरिक्ष प्रविधिको दिशामा निर्णायक मोड का रूपमा हेरेका छन्।




