इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ।

दिल्लीस्थित अरुण जेट्ली रंगशालामा भएको खेलमा टस जितेर पहिले बलिङ रोजेको दिल्लीले मुम्बईलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६२ रनमा सीमित गर्‍यो।

 जवाफमा १६३ रनको लक्ष्य पछ्याएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाउँदै सहज जित निकालेको हो।

दिल्लीको जितमा इम्प्याक्ट खेलाडी समीर रिजवी नायक बने। उनले ५१ बलमा ९० रनको उत्कृष्ट इनिङ खेल्दै टोलीलाई जिततर्फ डोर्‍याए। यो उनको लगातार दोस्रो अर्धशतक हो। पाथुम निसांका ४४ रनमा आउट हुँदा डेविड मिलर २१ रनमा अविजित रहे।

मुम्बईका लागि दीपक चाहर, कर्बिन बोस र मिचेल स्यान्टनरले समान एक–एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको मुम्बईका लागि सूर्यकुमार यादवले ५१ रनको अर्धशतक बनाए। रोहित शर्माले ३५, नमन धीरले २८ तथा स्यान्टनरले अविजित १८ रन जोडे पनि टोलीलाई ठूलो योगफलमा पुर्‍याउन सकेनन्।

दिल्लीका लागि मुकेश कुमारले दुई विकेट लिए भने अक्षर पटेल, लुंगी एनगिडी, विपराज निगम र टी नटराजनले समान एक–एक विकेट हात पारे।

मुम्बईका नियमित कप्तान हार्दिक पाण्ड्या फिटनेसका कारण खेलमा अनुपस्थित रहे। उनको स्थानमा सूर्यकुमार यादवले टोलीको कप्तानी सम्हालेका थिए।