अलपत्र रौतहट–सर्लाही पुलले पायो नयाँ गति, सांसद सिंहद्वारा स्थलगत अनुगमन
२०८३ बैशाख १, मंगलवार २१:४२
जनकपुर ,वर्षौंदेखि अलपत्र अवस्थामा रहेको रौतहट र सर्लाही जोड्ने बडहर्वा घाटस्थित बागमती नदी पुल निर्माण परियोजनाले अन्ततः गति लिने संकेत देखाएको छ। सर्लाही क्षेत्र नं. ४ का सांसद अमरेश कुमार सिंह ले सोमबार स्थलगत अनुगमन गर्दै निर्माण कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई कडा निर्देशन दिनुभएको छ।
अनुगमनका क्रममा सांसद सिंहले पुल निर्माणमा भएको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै ठेकेदार कम्पनीलाई चेतावनी दिनुभयो। अब कुनै पनि बहानामा काम ढिलाइ नगरी तोकिएको समयसीमाभित्र निर्माण सम्पन्न गर्नुपर्ने उहाँको स्पष्ट धारणा रहेको बताइएको छ।
उहाँले निर्माण कार्यमा अवरोध नआओस् भन्ने उद्देश्यले सरकारी निकाय, स्थानीय तह, सरोकारवाला पक्ष तथा समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो। “सरकारको प्रतिबद्धताअनुसार पुललाई शीघ्र सम्पन्न गरी दुई जिल्लाबीच सहज आवतजावत सुनिश्चित गर्नुपर्छ,” उहाँले भन्नुभयो।
यस परियोजनाले प्रधानमन्त्रीस्तरबाट समेत प्राथमिकता पाएको जनाइएको छ। नेपालका प्रधानमन्त्री ले आवश्यक निर्देशन दिएकाले अब परियोजना प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।
लामो समयदेखि अधुरो रहेको उक्त पुल छिट्टै सम्पन्न हुने आशामा स्थानीयवासी उत्साहित देखिएका छन्। पुल निर्माण सम्पन्न भएपछि रौतहट र सर्लाहीबीचको आवतजावत सहज हुने मात्र होइन, व्यापार, शिक्षा, स्वास्थ्य तथा सामाजिक गतिविधिमा समेत उल्लेखनीय सुधार आउने विश्वास गरिएको छ।
स्थानीय बासिन्दाले वर्षौंदेखिको प्रतीक्षा अब अन्त्यतिर पुगेको अनुभूति गर्दै निर्माण कार्यलाई तीव्रता दिन सरकार र निर्माण कम्पनी दुवैले जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिएका छन्।




