काठमाडौं, वैशाख १० ,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ले अब भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने तयारी अघि बढाएको छ। यसका लागि मन्त्रालयले इच्छुक स्थानीय तहहरूलाई ७ दिनभित्र आवेदन दिन सार्वजनिक आह्वान गरेको छ।

हालसम्म मालपोत कार्यालयनापी कार्यालयबाट प्रदान हुँदै आएका सेवा क्रमशः स्थानीय तहमा हस्तान्तरण गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ। यसले सेवा प्रवाहलाई छिटो, सहज र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।

सूचना अनुसार, सेवा सञ्चालन गर्न इच्छुक स्थानीय तहहरूले आवश्यक जनशक्ति, पूर्वाधार र व्यवस्थापनको प्रतिबद्धता सहित आवेदन दिनुपर्नेछ। आवेदन सूचना प्रकाशित मितिले ७ दिनभित्र सम्बन्धित विवरणसहित स्क्यान गरी इमेलमार्फत पठाउनुपर्नेछ।

मन्त्रालयले आवेदन पठाउनका लागि निम्न इमेल ठेगाना उपलब्ध गराएको छ:info@molcpa.gov.np,info@dolma.gov.np,jaggaprsasan@gmail.com,

यो कदमले संघीय संरचनालाई थप सुदृढ बनाउँदै स्थानीय सरकारलाई अधिकार हस्तान्तरण गर्ने प्रक्रियालाई प्रभावकारी बनाउने विश्वास लिइएको छ।