काठमाडौँ — अमेरिकी दक्षिण तथा मध्य एसिया मामिला हेर्ने विशेष दूत सर्जियो गोर ले नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउन अमेरिका इच्छुक रहेको बताएका छन्। नेपाल भ्रमणका क्रममा उनले रास्वपाका सभापति रवि लामिछानेसँग भेट गर्दै द्विपक्षीय सहकार्यका सम्भावनाबारे छलफल गरेका हुन्।

भेटपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै गोरले नेपालमा नयाँ सरकारप्रति जनताको बलियो समर्थन देखिएको उल्लेख गरे। उनले सरकारले अघि सारेका सुधारका एजेन्डा सकारात्मक र आशाजनक भएको भन्दै आगामी दिनमा नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

यसअघि गोरले परराष्ट्र मन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग पनि भेटवार्ता गरेका थिए।

रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वमा सरकार गठन भएपछि अमेरिकाबाट भएको यो दोस्रो उच्चस्तरीय भ्रमण हो। यसअघि अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर पनि नेपाल आएका थिए।

हाल भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोरलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प निकट कूटनीतिज्ञका रूपमा चिनिन्छ।