विराटपाटी काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गराउनका लागि फेरि रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल का अनुसार, राष्ट्रपतिबाट पुनर्विचारका लागि फर्काइएको अध्यादेशलाई आवश्यक छलफलपछि फेरि अघि बढाइएको हो।

यसअघि राष्ट्रपतिले उक्त अध्यादेशमाथि केही प्रश्न उठाउँदै पुनर्विचारका लागि सरकारमै फिर्ता पठाएका थिए। त्यसपछि सरकारभित्र कानुनी तथा राजनीतिक तहमा छलफल गरी पुनः पठाउने निष्कर्षमा पुगेको बताइएको छ।

संवैधानिक परिषद्सम्बन्धी विषय पछिल्लो समय राजनीतिक रूपमा चासोको केन्द्रमा रहँदै आएको छ।

 अध्यादेशको विषयलाई लिएर सत्तापक्ष र विपक्षबीच मतभेद पनि देखिएको छ।

अब राष्ट्रपतिबाट कस्तो निर्णय आउँछ भन्नेमा राजनीतिक वृत्तमा चासो बढेको छ।