बाबुरामकाे समयलाई नियाल्ने ‘तीन आँखा’
२०८३ बैशाख २१, सोमबार १७:४३
काठमाडौ ,बाबुराम भुसालको नवीन काव्यकृति ‘तीन आँखा’ सार्वजनिक भएको छ । यो कृति केवल शब्दहरूको सङ्ग्रह होइन, समय, समाज र मानव चेतनाको गहिरो अध्ययन जस्तै अनुभूत हुन्छ।
आजको विश्व अनेक विसङ्गतिले गाँजिएको छ—युद्धका तिक्त छायाहरू, जलवायु परिवर्तनको संकट, प्रदूषणको बढ्दो भार, सामाजिक विभेद र भ्रष्टाचारले सिर्जना गरेको असन्तुलन। यिनै यथार्थबीच कवि भुसालले आफ्नो सिर्जनात्मक दृष्टि विस्तार गरेका छन्।
यस कृतिमार्फत कविले विज्ञान, अध्यात्म र सहअस्तित्वका तीन आँखाबाट जीवन र जगतलाई हेर्ने समन्वित दृष्टि प्रदान गरेका छन्।
कृतिमा गजल, गीत, पद्य तथा गद्य कविताको समिश्रण छ, जसले भाव र विचारलाई विविध आयाममा विस्तार गरेको छ। कवि केवल समस्या उजागर गरेर रोकिने होइनन्; उनी समाधानको सम्भावना पनि खोज्छन्। यही विशेषताले ‘तीन आँखा’लाई साधारण काव्यकृतिभन्दा माथि उठाएको छ।
यसअघि ‘अभ्यास’ र ‘अभ्यास काव्ययात्रा’मार्फत साहित्यिक यात्रा तय गरिसकेका भुसालले यस कृतिमा आफ्नो दार्शनिक गहिराइलाई अझ परिपक्व रूपमा प्रस्तुत गरेका छन्।
हेरिटेज बुक एण्ड पब्लिसर्सबाट प्रकाशित ‘तीन आँखा’ले पाठकलाई केवल आनन्द दिने मात्र होइन, सोच्न, प्रश्न गर्न र समयसँग संवाद गर्न प्रेरित गर्छ।




