“कामका आधारमा विश्वास दिलाउँछौँ र ढुक्क रहन आग्रह” प्रधानमन्त्री वालेन
२०८३ बैशाख २२, मंगलवार ०९:२५
काठमाडौं, वैशाख २२ विराटपाटी, प्रधानमन्त्री बालेन्द्र शाह ले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न आएको स्पष्ट पार्दै नागरिकलाई ढुक्क रहन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले राज्यका महत्वपूर्ण क्षेत्रहरूमा देखिएको दलगत प्रभाव हटाउन सरकार गम्भीर रहेको संकेत दिएका हुन्।
प्रधानमन्त्रीका अनुसार वर्षौंदेखि विद्यार्थी र कर्मचारी संगठनहरू आफ्नो मूल उद्देश्यभन्दा विचलित भई दलगत स्वार्थका माध्यम बनेका छन्। यसले योग्यता र क्षमता भन्दा पहुँच र राजनीतिक नजिकपनलाई प्राथमिकता दिएको, जसका कारण समग्र प्रणालीप्रति जनविश्वास कमजोर बनेको उनको भनाइ छ।
उनले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत प्रभावबाट मुक्त गर्ने उद्देश्यले सरकारले अध्यादेशमार्फत् कदम चालेको उल्लेख गरे। अब नियुक्ति, सरुवा र बढुवामा राजनीतिक निकटता होइन, विधि, दक्षता र योग्यता नै आधार बन्नुपर्नेमा उनले जोड दिए।
प्रधानमन्त्रीले विद्यार्थीलाई सभ्य, जिम्मेवार र विचारशील राजनीति सिकाउनुपर्ने तथा कर्मचारीलाई कुनै दल होइन, जनताको सेवा गर्न प्रेरित गर्नुपर्ने धारणा राखे। उनले यो प्रयास कुनै दलविरुद्ध नभई प्रणाली सुधार र संस्थागत विकासका लागि भएको स्पष्ट पारे।
“परिवर्तन भाषणले होइन, निर्णयले आउँछ,” भन्दै उनले जनताको साथ र विश्वास अपरिहार्य रहेको बताए। सरकारका हरेक कदम आम नागरिककै हितमा केन्द्रित रहने विश्वास दिलाउँदै उनले अन्त्यमा भने, “हामी काम गर्न आएका हौँ, ढुक्क हुनुस्।”




