२८ वैशाखमा संसद् अधिवेशन बोलाउने तयारी
२०८३ बैशाख २२, मंगलवार १६:२८
काठमाडौं विराटपाटी , सरकारले संघीय संसद्को अधिवेशन पुनः आह्वान गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो २ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।
सरकारका प्रवक्ताका अनुसार उक्त निर्णय मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएको हो र सोही अनुसार सिफारिस रामचन्द्र पौडेल समक्ष पठाइएको छ।
यसअघि पनि सरकारकै सिफारिसमा अधिवेशन आह्वान गरिएको थियो। तर, आह्वान भएको भोलिपल्ट नै अधिवेशन स्थगित गरिँदा राजनीतिक वृत्तमा प्रश्न उठेका थिए। त्यसबीच सरकारले विभिन्न अध्यादेश जारी गरेको थियो, जसमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विशेष रूपमा विवादमा परेको थियो।
उक्त अध्यादेश प्रारम्भमा राष्ट्रपतिबाट फिर्ता भए पनि पुनः सिफारिस भएपछि जारी भइसकेको छ। अध्यादेश जारी भएसँगै सरकारले तत्काल संसद् अधिवेशन बोलाउने निर्णय गरेको देखिन्छ।
अब बस्ने अधिवेशनमा अध्यादेशहरू पेश हुने र तिनमाथि व्यापक छलफल हुने अपेक्षा गरिएको छ। साथै पछिल्लो राजनीतिक घटनाक्रमका कारण यो अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ।




