सेवामा अब्बल सुनसरी : परिवार नियोजन संघको उत्कृष्ट शाखा बन्यो
२०८३ बैशाख २६, शनिबार १६:३२
धरान । नेपाल परिवार नियोजन संघ को ४३औँ केन्द्रीय सभामा सुनसरी शाखाले देशकै उत्कृष्ट शाखाको सम्मान प्राप्त गरेको छ। पुल्चोकमा आयोजित कार्यक्रममा उत्कृष्ट सेवा प्रवाह र सबैभन्दा बढी सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराएको मूल्याङ्कनका आधारमा सुनसरी शाखालाई प्रशंसा–पत्रसहित सम्मान गरिएको हो।
शाखाकी सभापति निर्मला अधिकारी ले उक्त सम्मान ग्रहण गरेकी थिइन्। कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष डा. राजेन्द्र बहादुर श्रेष्ठ ले सम्मान हस्तान्तरण गरेका थिए।
प्रशंसा–पत्रमा परिवार स्वास्थ्य केन्द्रमार्फत समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ। विशेषगरी कोभिड–१९ महामारीको चुनौतीपूर्ण समयमा समेत सेवा निरन्तरता कायम राख्दै नागरिकको स्वास्थ्य सुरक्षामा पुर्याएको योगदानको प्रशंसा गरिएको थियो।
संघले शाखा कार्यालय, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको समर्पण र सक्रियतालाई उत्कृष्ट उपलब्धिको मुख्य आधार मानेको जनाएको छ।




