काेसी राजमार्गमा भारत–नेपाल–चीन जोड्ने च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न
२०८३ बैशाख २९, मंगलवार १८:३९
काठमाडौं । उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत पर्ने च्याम्ताङ–घोङ्गप्पा १०.८१ किलोमिटर सडकखण्ड निर्माण सम्पन्न भएको छ। दुर्गम भूगोल र भीरालो चट्टानी क्षेत्रका कारण अत्यन्त चुनौतीपूर्ण मानिएको उक्त सडक नेपाली सेनाले निर्माण गरी सडक विभागलाई हस्तान्तरण गरेको हो।
सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी शेरबहादुर सिंहले सडकखण्ड औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। निर्माण सम्पन्न भएको यो खण्ड भारत–नेपाल–चीन जोड्ने रणनीतिक महत्वको जोगबनी–विराटनगर–किमाथाङ्का सडक सञ्जालको हिस्सा हो।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको कोशी राजमार्ग कुल ३९० किलोमिटर लामो रहेको छ। यसमध्ये खाँदबारीदेखि किमाथाङ्कासम्मको दूरी १६५ किलोमिटर पर्छ
२०७७ फागुन २४ गतेदेखि निर्माण सुरु गरिएको सडक पाँच वर्षपछि सम्पन्न भएको हो। निर्माण अवधिमा सामग्री ढुवानीका लागि हेलिकप्टर प्रयोग गर्नुपरेको थियो भने कठिन चट्टान फोड्न विस्फोटक पदार्थसमेत प्रयोग गरिएको जनाइएको छ।
सडक सञ्चालनमा आएपछि कोशी प्रदेशका हिमाली तथा पहाडी जिल्लाका बासिन्दाले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ। यातायात पहुँच विस्तारसँगै व्यापार, पर्यटन र सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।




