विराटनगर , बजारमा बिक्री भइरहेको लोकप्रिय चाउचाउ ब्रान्ड ‘करेन्ट’ र ‘लाली’ गुणस्तरहीन भेटिएपछि सरकारले तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादन गरिएको १०० ग्रामको करेन्ट नुडल्स र ५० ग्रामको लाली चाउचाउमा अनिवार्य गुणस्तर मापदण्डअनुसार हुनुपर्ने एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु नमिलेको जनाएको छ।

विभागका अनुसार परीक्षणका क्रममा गुणस्तरमा कमी देखिएपछि ती उत्पादन बजारबाट हटाउन आदेश दिइएको हो।

यस्तै, सुनसरीको दुहबीस्थित एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिद्वारा उत्पादित ‘ज्याकन्याक क्रेकर्स’ बिस्कुट पनि गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न भनिएको छ।

खाद्य सुरक्षामाथि प्रश्न उठ्ने गरी दैनिक उपभोगका सामग्रीमै कमजोरी देखिन थालेपछि उपभोक्तालाई सचेत रहन विभागले आग्रह गरेको छ।