काठमाडौं विराटपाटी, देशभर गर्मीको प्रभाव दिनप्रतिदिन बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी तीनदेखि चार दिनसम्म तापक्रम अझै बढ्ने चेतावनी दिएको छ । विशेषगरी तराई र पश्चिम नेपालका जिल्लामा अत्यधिक गर्मी महसुस हुने अनुमान गरिएको छ ।

जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार “हिजोभन्दा आज र आजभन्दा भोलि थप गर्मी बढ्ने” संकेत देखिएको छ । सोमबार देशका केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो ।

विभागका अनुसार कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीसँगै हल्का वर्षाको सम्भावना रहे पनि मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ । जसका कारण तातो हावा र चर्को गर्मी अझै बढ्ने देखिएको छ ।

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई गर्मीबाट जोगिन सचेत रहन आग्रह गरिएको छ । विज्ञहरूले प्रशस्त पानी पिउन, दिउँसोको चर्को घाममा बाहिर कम निस्कन तथा हल्का कपडा प्रयोग गर्न सुझाव दिएका छन् ।