३१ वर्षमै सहसचिव: नयाँ पुस्ताकी आरती न्यौपानेको असाधारण फड्को
२०८३ जेष्ठ ६, बुधबार २१:१२
काठमाडौ ,नेपालको निजामती सेवामा नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै आरती न्यौपानेले दुर्लभ उपलब्धि हासिल गरेकी छन्। ३१ वर्षकै उमेरमा सहसचिव बन्न सफल भएपछि उनी अहिले प्रशासनिक वृत्तमा चर्चाको केन्द्र बनेकी छन्।
२०५१ साउन २० गते जन्मिएकी आरती खुला महिला प्रतिस्पर्धाबाट सहसचिव बन्ने सम्भवतः सबैभन्दा कम उमेरकी कर्मचारी बनेकी हुन्। यसअघि कम उमेरमा सहसचिव बनेका व्यक्तिको रूपमा प्रदीप परियारको नाम चर्चामा थियो, जसले ३२ वर्षको उमेरमा सफलता पाएका थिए।
२०७५ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी आरतीले छोटो समयमै उल्लेखनीय उचाइ पार गरिन्। पाँच वर्षमै उपसचिव बनेकी उनी अहिले सहसचिव पदसम्म पुगेकी छन्। निजामती सेवाको विद्यमान कानुनअनुसार अधिकृत तहमा प्रवेश गरेको सात वर्षपछि मात्रै सहसचिवमा प्रतिस्पर्धा गर्न पाइन्छ। त्यसैले ३०–३१ वर्षमै यो उपलब्धि हासिल गर्नु निकै असाधारण मानिएको छ।
सहसचिव छनोट प्रक्रिया आफैंमा कठिन मानिन्छ। लिखित परीक्षा मात्र होइन, समूह छलफल, केस स्टडी र प्रस्तुतीकरणजस्ता विभिन्न चरण पार गर्नुपर्छ। यस्ता चुनौतीपूर्ण प्रतिस्पर्धामा आरतीले सफलता हासिल गरेकी हुन्।
शैक्षिक रूपमा पनि उनी सक्षम देखिन्छिन्। उनले २०६९ सालमा प्लस टु र २०७३ सालमा स्नातक तह पूरा गरेपछि उच्च अध्ययनका लागि विदेश गएकी थिइन्। जेनेवा बिजनेस स्कुलबाट ‘मास्टर्स इन इन्टरनेसनल म्यानेजमेन्ट’ अध्ययन गरेकी उनले त्यो अध्ययन आफ्नै खर्चमा पूरा गरेकी बताइन्छ।
अध्ययन बिदाकै समयमा उनले उपसचिवको परीक्षा दिएकी थिइन्। लिखितसहित अन्य सबै चरण पार गरेपछि मात्र उनी नेपाल फर्किएकी थिइन्।
निजामती सेवामा उनको प्रारम्भिक कार्यअनुभव सूर्यविनायक नगरपालिकाबाट सुरु भएको थियो। त्यहाँ करिब साढे तीन वर्ष काम गरेपछि उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सेवा दिइन्। हाल उनी पर्यटन मन्त्रालयमा कार्यरत छिन्।
आरतीका बुवा शिवराम न्यौपाने पनि सहसचिव पदबाट अवकाश प्राप्त कर्मचारी हुन्। बुवाको इमान्दार जीवनशैली र सार्वजनिक सेवाप्रतिको समर्पणले आफूलाई प्रेरित गरेको आरती बताउँछिन्। लोक सेवा तयारीमा लाग्ने निर्णय पनि बुवाकै सुझावपछि भएको उनको भनाइ छ।
उनका अनुसार अहिलेका सेवाग्राहीले केवल छिटो सेवा मात्र होइन, सम्मानजनक व्यवहार पनि अपेक्षा गर्छन्। नयाँ पुस्ताको सोच, प्रविधिको प्रयोग र सेवा प्रवाहमा चुस्तता ल्याउने आफ्नो प्राथमिकता रहने उनले बताएकी छन्।




