काठमाडौँ। सुरक्षित जागिर, राम्रो तलब र स्थायी बसोबास सबै त्यागेर एक नेपाली उद्यमीले नेपालमै प्रविधि क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेकी छन्। करिब १५ वर्ष अमेरिका बसेर सूचना प्रविधि (IT) क्षेत्रमा अन्तर्राष्ट्रिय टिमसँग काम गरेकी कार्भिकाले २०१७ मा अमेरिका छोडेर नेपाल फर्कने निर्णय गरिन्।

उनका अनुसार विदेशमै बसेर अन्य देशका लागि काम गर्नुको सट्टा नेपालमै बसेर विश्व बजारलाई सेवा दिन सकिने सम्भावनाले उनलाई फर्किन प्रेरित गर्‍यो। “भारत र चीनको काम अमेरिकामा बसेर गर्न सकिन्छ भने नेपालबाट किन सम्भव हुँदैन?” भन्ने प्रश्नले उनको जीवनको दिशा बदलिदियो।

नेपाल फर्किएपछि एक वर्षको अध्ययन र बजार अनुसन्धानपछि उनले २०१८ मा ‘किम्बु टेक’ स्थापना गरिन्। स्थानीय फल ‘किम्बु’ बाट नाम राखिएको यस कम्पनीले अहिले मुख्यतः विदेश लक्षित आउटसोर्सिङ तथा BPO सेवा प्रदान गर्दै आएको छ।

कम्पनीमार्फत करिब ९५ प्रतिशत काम विदेशी बजारसँग सम्बन्धित छ, जसले नेपालमा विदेशी मुद्रा भित्र्याउन सहयोग गरिरहेको छ। हाल ‘किम्बु टेक’ मा ३० भन्दा बढी दक्ष कर्मचारी कार्यरत छन्, जसमा धेरैजसो महिला छन्। साथै BPO कार्यक्रममार्फत १०० भन्दा बढी कलेज विद्यार्थीहरूले अध्ययनसँगै आम्दानी र अन्तर्राष्ट्रिय अनुभव प्राप्त गरिरहेका छन्।

व्यक्तिगत जीवन र करियर सन्तुलनबारे सोध्दा कार्भिका भन्छिन्, बिहानैदेखि समय व्यवस्थापन गरेर दुवै जिम्मेवारी सम्भव छ। उनका दुई छोरीहरू पनि नेपालमै हुर्किँदै नेपाली भाषा र संस्कृतिसँग नजिक भइरहेका छन्, जसलाई उनी आफ्नो ठूलो उपलब्धि मान्छिन्।

उनको भनाइमा, “यदि विदेशमा जस्तै मेहनत, अनुशासन र सही सोच राख्ने हो भने नेपालमै बसेर पनि अमेरिकी स्तरको आम्दानी र सफल व्यवसाय बनाउन सकिन्छ।”

उनले नेपालमा कक्षा ८ बाटै सूचना प्रविधि शिक्षा अनिवार्य गर्नुपर्ने सुझाव दिँदै प्रविधि नै भविष्यको मुख्य सीप हुने बताएकी छन्।