नेपालमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेका बेला सरकारले वैकल्पिक ऊर्जामाथि नयाँ बहस सुरु गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव ले निजी क्षेत्रलाई इथानोल उत्पादनमा सक्रिय हुन आग्रह गरेपछि ऊर्जा क्षेत्र फेरि चर्चामा आएको हो।

बारास्थित नेपाल आयल निगम को अमलेखगञ्ज प्रादेशिक कार्यालय निरीक्षणका क्रममा मन्त्री यादवले नेपालले अब केवल आयातित पेट्रोलियममा भर पर्न नसक्ने संकेत दिइन्।

 उनले पेट्रोल, डिजेल र एलपी ग्यासको बढ्दो भारले अर्थतन्त्रलाई दबाबमा पारेको उल्लेख गर्दै स्वदेशमै उत्पादन गर्न सकिने ऊर्जाको विकल्प खोज्नुपर्ने धारणा राखिन्।

विशेषगरी उखु, मकै, जैविक पदार्थ तथा कृषि उत्पादनबाट बन्ने इथानोललाई अब ऊर्जा नीतिको केन्द्रमा ल्याउने संकेत सरकारबाट देखिएको छ। यदि नीति स्पष्ट र लगानीमैत्री वातावरण बनेमा नेपालको तराई क्षेत्रमै इथानोल उद्योगको सम्भावना बलियो देखिन्छ।

तर प्रश्न अझै बाँकी छ— के नेपालसँग पर्याप्त कच्चा पदार्थ, प्रविधि र दीर्घकालीन नीति छ ? कि फेरि अर्को भाषणमै सीमित हुने बहस ?

ऊर्जा विज्ञहरूका अनुसार इथानोल मिश्रित इन्धन प्रयोगले आयात घटाउन सहयोग गर्न सक्छ। यसले कृषिसँग उद्योग जोड्ने अवसर पनि दिन सक्छ। तर उत्पादन लागत, गुणस्तर परीक्षण, बजार संरचना र सरकारी प्रतिबद्धता कमजोर भए परियोजना कागजमै सीमित हुने खतरा रहन्छ।

अहिलेको बहसले एउटा स्पष्ट संकेत भने दिएको छ— नेपाल अब ऊर्जा सुरक्षाबारे गम्भीर छलफलतर्फ प्रवेश गर्दैछ।