बुढीगंगाका भुवनेश्वर बने विराट राजवंशी समाजका पुनः अध्यक्ष
२०८३ जेष्ठ ११, सोमबार १२:५६
विराटनगर, ११ जेठ विराटपाटी । विराट राजवंशी समाज उत्थान समितिको अध्यक्षमा बुढीगंगाका समाजसेवी भुवनेश्वर मण्डल राजवंशी पुनः चयन भएका छन्। समाजको २५ औँ साधारणसभा तथा ८ औँ केन्द्रीय अधिवेशनबाट उनी सर्वसम्मत रूपमा नेतृत्वमा दोहोरिएका हुन्।
नवनिर्वाचित १६ सदस्यीय कार्यसमितिलाई आइतबार प्रमाणपत्र वितरण तथा सपथग्रहण गराइएको थियो। कार्यक्रम कटहरी गाउँपालिका–१ का वडाध्यक्ष हरि राजवंशी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने निर्वाचन समितिका संयोजक आशिराम राजवंशी ले कार्यक्रमको अध्यक्षता गरेका थिए।
समितिको वरिष्ठ उपसभापतिमा प्रदीपकुमार विश्वास र दीपनारायण राजवंशी चयन भएका छन्। उपसभापतिमा मीना राजवंशी, महासचिवमा सिधुलाल राजवंशी, सचिवमा बनेसलाल राजवंशी तथा कोषाध्यक्षमा मायाराम राजवंशी रहेका छन्।
त्यसैगरी सदस्यहरूमा जवाहरलाल राजवंशी, तेजनारायण राजवंशी, देवनारायण राजवंशी, सम्तली राजवंशी, रामदेव राजवंशी, पन्नालाल राजवंशी, नुतन राजवंशी, मञ्जु राजवंशी र रञ्जना राजवंशी चयन भएका छन्।
सपथग्रहण समारोहमा बोल्दै प्रमुख अतिथि तथा निर्वाचन संयोजकले राजवंशी समुदायको सामाजिक एकता, भाषा–संस्कृति संरक्षण र आर्थिक सशक्तीकरणमा नयाँ समितिले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
बुढीगंगासँग जोडिएका भुवनेश्वर मण्डल राजवंशी पुनः नेतृत्वमा फर्किएसँगै राजवंशी समुदायभित्र नयाँ ऊर्जा र अपेक्षा थपिएको सहभागीहरूले बताएका छन्।




