विराटनगर ,कोशी प्रदेशसभामा नीति तथा कार्यक्रम पारित भएपछि राजनीतिक माहोल तातिएको छ।

मुख्य विपक्षी नेकपाका सांसदहरूले संशोधन प्रस्ताव राख्न पर्याप्त समय नदिइएको भन्दै कडा विरोध जनाएका छन्।

मुख्यमन्त्री हिक्मत कार्कीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएपछि सभामुख अम्बरबहादुर विष्टले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्दै पारित भएको घोषणा गरेका थिए। त्यसलगत्तै विपक्षी सांसदहरू उठेर प्रक्रियामाथि प्रश्न उठाएका हुन्।

नेकपा संसदीय दलका नेता इन्द्र आङ्बो, पूर्वमुख्यमन्त्री राजेन्द्र राई लगायत सांसदहरूले संसदीय अभ्यास र प्रक्रियामाथि गम्भीर असन्तुष्टि व्यक्त गरे। विपक्षीको अवरोधपछि सभामुखले बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।

कोशी प्रदेशसभामा अब राजनीतिक विवाद थप चर्किने संकेत देखिएको छ।