विराटचाैक, जेठ २७ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिको प्रथम प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया तीव्र बनेको छ। प्रदेश सभापति पदका लागि आठ जना नेताले उम्मेदवारी दर्ता गराएपछि नेतृत्वको दौड रोचक बनेको छ।

मोरङको विराटचोकमा जारी अधिवेशनमा सभापति पदका लागि गोमा तामाङ (सरिन), चन्द्र राई, चन्द्रकुमार गौली, पीताम्बर तिम्सिना, पारशमणि गेलाल, खगेन्द्र कटुवाल, वीरेन्द्र श्रेष्ठ तथा नारायणप्रसाद घिमिरे प्रतिस्पर्धामा उत्रिएका छन्।

अधिवेशनको निर्वाचन प्रक्रिया सञ्चालन गर्न नवराज पुडासैनीको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ। समितिका अनुसार प्रदेश समिति सदस्य पदका लागि ७१ जनाले उम्मेदवारी दिएका छन्।

रास्वपाको विधानअनुसार कोशी प्रदेश समिति ६१ सदस्यीय हुनेछ। नयाँ प्रदेश नेतृत्व चयन गर्ने यस अधिवेशनलाई पार्टीभित्र महत्वपूर्ण राजनीतिक अभ्यासका रूपमा हेरिएको छ। विशेषगरी सभापति पदमा बहुपक्षीय प्रतिस्पर्धा देखिएकाले परिणामप्रति कार्यकर्ता र समर्थकहरूको चासो बढेको छ।

निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेपछि मतदान प्रक्रिया अघि बढाइने जनाएको छ। अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले कोशी प्रदेशमा पार्टी संगठन विस्तार र आगामी राजनीतिक रणनीति तय गर्ने अपेक्षा गरिएको छ।