काठमाडौं, ३० जेठ , सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ३३५ मेगावाट पुर्‍याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ।

 ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रमअनुसार आगामी एक वर्षमा थप १ हजार ४० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिनेछ।

मन्त्रालयका अनुसार निर्माणाधीन तथा अन्तिम चरणमा पुगेका जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न विशेष पहल गरिनेछ। निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई समेत आवश्यक सहजीकरण प्रदान गरी निर्धारित समयमै सञ्चालनमा ल्याइने योजना छ।

विद्युत् प्रसारण पूर्वाधार विस्तारलाई पनि उच्च प्राथमिकता दिइएको छ। आगामी आवमा ६६ केभी प्रसारण लाइनको लम्बाइ ७ हजार ४८ सर्किट किलोमिटरबाट बढाएर ७ हजार ८०८ सर्किट किलोमिटर तथा ३३ केभी प्रसारण लाइन ८ हजार ३२५ सर्किट किलोमिटरबाट बढाएर ८ हजार ४२९ सर्किट किलोमिटर पुर्‍याइने लक्ष्य राखिएको छ।

सरकारले प्रतिव्यक्ति वार्षिक विद्युत् खपत ५११ किलोवाट घण्टा पुर्‍याउने तथा विद्युत् चुहावटलाई १२.०३ प्रतिशतमा सीमित गर्ने लक्ष्य समेत निर्धारण गरेको छ। साथै, लघु तथा साना जलविद्युत् आयोजनाबाट ४३ मेगावाट र सौर्य ऊर्जाबाट ९९ मेगावाट विद्युत् उत्पादन क्षमता थप गरिनेछ।

सिँचाइ तथा नदी नियन्त्रणतर्फ आगामी वर्ष थप १५ हजार ७७६ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गरिनेछ। ठूला तथा मझौला नदीमा ७० किलोमिटर तटबन्ध निर्माण तथा २१० हेक्टर जमिन उकास गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।

मन्त्रालयले जलविद्युत् विकासलाई राष्ट्रिय आवश्यकता मात्र नभई आर्थिक समृद्धि, औद्योगिकीकरण, रोजगारी सिर्जना, बाढी नियन्त्रण तथा वातावरणीय संरक्षणसँग जोडिएको महत्वपूर्ण क्षेत्रका रूपमा व्याख्या गरेको छ।

यसैबीच, आगामी आर्थिक वर्षमा १२ वटा प्रसारण लाइन आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ती आयोजना सम्पन्न भएपछि देशभर विद्युत् आपूर्ति थप सहज हुने र उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न मद्दत पुग्ने विश्वास गरिएको छ। काठमाडौं उपत्यकाको मध्यभाग हुँदै जाने नयाँ प्रसारण लाइन निर्माण योजनालाई समेत कार्यान्वयनमा लैजाने तयारी गरिएको मन्त्रालयले जनाएको छ।