रक्तदानबाट सुरु भयो धरान जेसिज सप्ताह २०२६
२०८३ जेष्ठ ३१, आईतवार २१:००
धरान, विराटपाटी सामाजिक सेवा, नेतृत्व विकास र सामुदायिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै धरान जेसिज वर्ष २०२६ ले आयोजना गरेको “जेसिज सप्ताह २०२६” रक्तदान कार्यक्रममार्फत औपचारिक रूपमा सुरु भएको छ।
धरान जेसिजका पूर्व अध्यक्ष स्वर्गीय सुबास सिंहको स्मृतिमा आयोजित वृहत् रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन्। कार्यक्रमले धरान क्षेत्रमा देखिएको रगत अभाव न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
नेपाल रेडक्रस सोसाइटी धरानका अध्यक्ष उमेश थापाले कार्यक्रमको उद्घाटन गर्दै युवाहरू सामाजिक सेवामा सक्रिय रहनुपर्नेमा जोड दिए। कार्यक्रममा धरान जेसिजका पूर्व अध्यक्ष, वरिष्ठ सदस्य तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
धरान जेसिज वर्ष २०२६ का अध्यक्ष जेसी सागर प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा सप्ताहव्यापी गतिविधिका बारेमा जानकारी दिइएको थियो। अध्यक्ष प्रसाईका अनुसार जेसिज सप्ताहअन्तर्गत भोलि नेपाल पत्रकार महासंघ सुनसरी र धरान जेसिजबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिनेछ।
सप्ताहका मूल संयोजक तथा कार्यकारी उपाध्यक्ष (EVP) जेसी शुभम शाक्यले कला प्रतियोगिता, स्वास्थ्य शिविर, योग अभ्यास, बैंकिङसम्बन्धी तालिम, सहयोग तथा दान कार्यक्रमलगायत विभिन्न सामाजिक र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
रक्तदान कार्यक्रमको संयोजन जेसी विवेक शाहले गरेका थिए। करिब ५ लाख रुपैयाँको लागतमा सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रमले युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै समाजसेवाप्रतिको दायित्वबोधलाई थप सुदृढ बनाउने विश्वास आयोजकको छ।




