साैराहामा आन्तरिक पर्यटनको चहलपहल
२०८३ असार २, मंगलवार ०९:१७
चितवनको सौराहा फेरि चहलपहलले भरिएको छ। सरकारले दिएको शनिबार र आइतबारको दुई दिने बिदाले यहाँको पर्यटनमा नयाँ ऊर्जा थपिएको छ।
गर्मीको मौसममा सामान्यतया सुनसान रहने सौराहा अहिले आन्तरिक पर्यटकले भरिभराउ देखिएको छ। होटल, लज र रेष्टुरेन्टहरूमा पाहुनाको चाप बढेको छ भने जिप सफारी, हात्ती सयर र जंगल अवलोकनमा घुइँचो लागेको छ।
व्यवसायीहरूका अनुसार बिदा मिलाएर घुम्न निस्कने चलन बढेसँगै सौराहा जस्ता गन्तव्यहरू छोटो समयमा नै ‘हाइ सिजन’ जस्तै बन्न थालेका छन्।
यसले स्थानीय पर्यटन व्यवसायलाई मात्र होइन, समग्र आन्तरिक पर्यटनलाई पनि चलायमान बनाएको छ।




