सल्यानमा तीन महिनादेखि निःशुल्क औषधि अभाव, दीर्घरोगी मारमा
२०८३ असार १३, शनिबार १६:५५
सल्यान जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा विगत तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव देखिएको छ। औषधि अभावका कारण उच्च रक्तचाप, मधुमेह, मानसिक रोग तथा परिवार नियोजनसम्बन्धी सेवा लिने बिरामीहरू प्रभावित भएका छन्।
निःशुल्क पाउनुपर्ने औषधि उपलब्ध नभएपछि दीर्घरोगीहरू निजी मेडिकलबाट महँगो मूल्यमा औषधि खरिद गर्न बाध्य भएका छन्। आर्थिक अवस्था कमजोर भएका बिरामीहरू नियमित औषधि सेवनबाट समेत वञ्चित हुन थालेका छन्।
कपुरकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास हमालका अनुसार पालिकाअन्तर्गतका सबै स्वास्थ्य संस्थामा उच्च रक्तचाप, मधुमेह, मानसिक रोग तथा परिवार नियोजनका औषधिको अभाव रहेको छ।
यस्तै, दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले हरेक वर्ष प्रदेश सरकारबाट औषधि ढिलो पठाउने प्रवृत्तिका कारण स्वास्थ्य संस्थामा औषधि अभाव दोहोरिने गरेको बताए।
स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरका अनुसार प्रदेश सरकारले अस्पतालमार्फत निःशुल्क वितरण गरिने ९८ प्रकारका औषधि हालसम्म नपठाएकाले समस्या उत्पन्न भएको हो। औषधि अभावकै कारण अस्पताल आउने बिरामीलाई निजी मेडिकल तथा अस्पतालकै फार्मेसीबाट औषधि खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको उनले बताए।
स्थानीयले आवश्यक औषधिको आपूर्ति शीघ्र सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।




