लगानीकर्ताको विश्वास जित्ने जिम्मेवारी सेबोन अध्यक्षको काँधमा
२०८३ असार १५, सोमबार १३:१५
नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीकर्ताको हित र पुँजीबजार सुधारलाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ गराउँदै अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारका लोभ, प्रलोभन र प्रभावबाट मुक्त रही साना तथा ठूला सबै लगानीकर्ताको लगानी सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे।
अर्थमन्त्री वाग्लेले पुँजीबजारमा विश्वासको वातावरण निर्माण गर्न दैनिक, साप्ताहिक, मासिक, छ महिनाभित्र र एक वर्षभित्र सम्पन्न गरिने सुधार योजनासहित स्पष्ट कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिएका छन्। उनले बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामा त्रास सिर्जना गर्ने प्रवृत्तिलाई अन्त्य गर्न पनि जोड दिएका छन्।
“धेरै बोलेर होइन, काम र परिणामबाट आफूलाई प्रमाणित गर्नुहोस्,” अर्थमन्त्री वाग्लेले भने, “सरकार र मन्त्रालयबाट आवश्यक सहयोग रहनेछ, तर नियामक निकायको स्वतन्त्रता र प्रभावकारितामा कुनै हस्तक्षेप हुने छैन।”
कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टले विगतमा विभिन्न अध्ययन तथा समितिहरूले दिएका सुझावहरू कार्यान्वयन गर्दै नेपालको पुँजीबजारलाई थप पारदर्शी, विश्वसनीय र गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरे।
उनले लगानीकर्ताको विश्वास अभिवृद्धि गर्दै पुँजी परिचालनमार्फत राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्याउने गरी काम गर्ने बताए।




