स्वास्थ्य बिमा बोर्डद्वारा २३ अर्ब ४४ करोडभन्दा बढी दाबी भुक्तानी, मङ्सिरसम्मको बक्यौता शून्य
२०८३ असार १९, शुक्रबार १३:२३
काठमाडौं । स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ दाबी भुक्तानी गरिसकेको जनाएको छ। शुक्रबार जारी गरिएको सूचनाअनुसार २०८२ साल मङ्सिर मसान्तसम्म बोर्डमा आबद्ध सबै स्वास्थ्य संस्थाको दाबी बक्यौता पूर्ण रूपमा फरफारक गरिएको छ।
बोर्डका अनुसार सीमित स्रोतसाधन र संरचनागत चुनौतीका बाबजुद स्वास्थ्य बिमा कार्यक्रमले नागरिकको उपचार खर्च घटाउन तथा आर्थिक जोखिमबाट संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यद्यपि, दिगो वित्तीय स्रोत र प्रभावकारी संयन्त्र पूर्ण रूपमा स्थापित हुन नसक्दा केही समय दाबी भुक्तानीमा ढिलाइ भएको र त्यसबाट सेवा प्रदायक संस्था तथा बीमित सेवाग्राही दुवै प्रभावित भएको स्वीकार गरिएको छ।
मङ्सिरपछिको दाबी भुक्तानीका लागि आवश्यक बजेट सुनिश्चित गर्न तथा कार्यक्रमलाई दीगो बनाउन सम्बन्धित निकायसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ।
बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित नागरिकलाई कुनै अवरोधबिना निर्धारित मापदण्डअनुसार गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ।
साथै, बीमित सेवाग्राहीलाई स्वास्थ्य बिमा सेवाको जिम्मेवारीपूर्वक सदुपयोग गर्न, अनावश्यक परीक्षण वा उपचारको माग नगर्न तथा चिकित्सक र स्वास्थ्यकर्मीमाथि आवश्यकता भन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन अपिल गर्दै यसले स्वास्थ्य बिमा कार्यक्रमको दीगोपना र प्रभावकारितामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।




