२१२औँ राष्ट्रियस्तरीय भानु जयन्ती समारोह २०२६ को चौथो दिन विविध कार्यक्रमसहित सम्पन्न
२०८३ असार २५, बिहीबार १४:३८
सिक्किम विराटपाटी ,२१२ ओैं राष्ट्रियस्तरीय भानु जयन्ती समारोह २०२६ अन्तर्गत चौथो दिनको कार्यक्रम “भाषा, साहित्य विकास एवं जातीय सद्भावना” भन्ने मूल नाराका साथ सोरेङस्थित इन्जिनियरिङ कम्प्लेक्स हल, डाक बङ्गलामा उत्साहपूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा सिक्किम विधानसभाकी उपसभामुख श्रीमती राजकुमारी थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथिका रूपमा विधायकहरू श्रीमती पामिन लेप्चा, श्रीमती कला राई, श्री सुदेश कुमार सुब्बा तथा श्री आदित्य तामाङ (गोले) को उपस्थिति रहेको थियो।
यस अवसरमा सल्लाहकार श्री सी.पी. शर्मा, जिल्ला अध्यक्ष तथा जिल्ला परिषद् प्रमुख श्रीमती तिला देवी गुरुङ, जिल्ला कलेक्टर श्री धीरज सुबेदी, विभिन्न पञ्चायतका जनप्रतिनिधि, सरकारी अधिकारीहरू तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो।
कार्यक्रमको सुरुवातमा राज्यसभा सदस्य श्री डी.टी. लेप्चाको पहल तथा सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत सोरेङ सामुदायिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरिएको थियो। यस पहलले सोरेङ क्षेत्रका नागरिकलाई आकस्मिक स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने तथा आपत्कालीन स्वास्थ्य सेवा सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रमअन्तर्गत वन विभागको प्रमुख अभियान “मेरो रुख, मेरो सन्तति” अन्तर्गत लालीगुराँसका बिरुवाहरू रोपण गरिएको थियो। यस अभियानले वातावरण संरक्षणप्रति साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुका साथै भावी पुस्ताका लागि प्रकृतिको संरक्षण र संवर्द्धन गर्न सबैलाई प्रेरित गरेको छ।
समारोहमा सुखिम डान्स एकेडेमीद्वारा प्रस्तुत रंगीन सांस्कृतिक कार्यक्रमहरूले क्षेत्रको समृद्ध सांस्कृतिक परम्परा र पहिचानलाई उजागर गरेका थिए। साथै, अन्तरविश्वविद्यालयस्तरीय वादविवाद प्रतियोगिता पनि आयोजना गरिएको थियो, जसले विद्यार्थीहरूलाई आफ्ना विचार प्रस्तुत गर्ने, अनुभव आदानप्रदान गर्ने तथा वक्तृत्व कला प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको थियो।
वादविवाद प्रतियोगितामा खाङचेन्जोङ्गा राज्य विश्वविद्यालय, सिक्किम तथा सिक्किम विश्वविद्यालय फाइनल चरणका लागि छनोट भएका छन्। खाङचेन्जोङ्गा राज्य विश्वविद्यालयका भूपेन तिम्सिना र सिक्किम विश्वविद्यालयकी मन्दिरा रावत उत्कृष्ट वक्ताका रूपमा घोषित भएका छन्।
प्रतियोगिताको फाइनल चरण आगामी जुलाई १३, २०२६ मा आयोजना हुने जनाइएको छ।
समारोहमा विद्यार्थी, साहित्यप्रेमी, बुद्धिजीवी, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा तथा साहित्यमा रहेको अतुलनीय योगदानप्रति सम्मान व्यक्त गर्नुका साथै भाषा, साहित्य, संस्कृति तथा राष्ट्रिय एकताको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।




