टेम्केमैयुङमा रु. ९.८८ करोडको आधुनिक कृषि उपज संकलन तथा बिक्री केन्द्र बन्ने
२०८३ श्रावण ३, आईतवार ०८:२०
भोजपुर, साउन ३। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९, पाँचधारेमा भारत सरकारको आर्थिक सहयोगमा रु. ९ करोड ८८ लाख ६७ हजार ७८५ लागतमा आधुनिक कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार परियोजनाको कुल लागतमध्ये ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुनेछ भने बाँकी ५ प्रतिशत तथा भ्याट गाउँपालिकाले व्यहोर्नेछ।
परियोजनाको डीपीआरअनुसार केन्द्रमा आधुनिक भण्डारण गृह, चिस्यान (कोल्ड स्टोरेज) व्यवस्थापन, कृषि उपजको ग्रेडिङ तथा प्राथमिक प्रशोधनका सुविधा रहनेछन्। केन्द्र सञ्चालनमा आएपछि कृषकले आफ्ना उत्पादन सुरक्षित रूपमा भण्डारण गर्न, उचित मूल्य प्राप्त गर्न तथा स्थानीय र बाह्य बजारसम्म सहज पहुँच स्थापित गर्न सक्ने विश्वास गरिएको छ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले यसलाई गाउँपालिकाको गौरवको परियोजना भएको बताउँदै यसले कृषि क्षेत्रको आधुनिकीकरण, रोजगारी सिर्जना, स्थानीय व्यापार विस्तार तथा बसाइँसराइ न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
गाउँपालिकाले कृषि र पर्यटनलाई विकासको प्रमुख आधारका रूपमा अघि बढाउँदै चालु आर्थिक वर्षभित्र निर्माण सम्झौता सम्पन्न गरी काम सुरु गर्ने लक्ष्य राखेको जनाएको छ। समयमै निर्माण सम्पन्न भएमा पाँचधारे टेम्केमैयुङ मात्र नभई भोजपुर जिल्लाकै कृषि उत्पादन संकलन तथा बजारीकरणको प्रमुख केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।




