बजारमा अझै पनि अखाद्य प्रमाणित ‘रमपम’ चाउचाउ बिक्रीमा, उपभोक्तालाई उच्च सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण ६, बुधबार २१:१५
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून गुणस्तरका कारण रमपम चाउचाउको ए/२३सी२ ब्याच बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिए पनि उक्त ब्याचका उत्पादनहरू अझै विभिन्न स्थानमा बिक्री भइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ।
विभागले बिक्री रोक्न र बजारबाट फिर्ता गर्न स्पष्ट निर्देशन जारी गरे पनि केही व्यापारीले त्यसको पूर्ण पालना नगरेको आरोप छ। सस्तो मूल्यमा बिक्री गरिएका यी चाउचाउ चटपटे पसल, राजमार्गका होटल तथा अन्य खुद्रा पसलसम्म पुगेको दाबी गरिएको छ।
यस घटनापछि धेरै विद्यालय, कलेज र अभिभावकले विद्यार्थी तथा बालबालिकालाई उक्त ब्याचको चाउचाउ नखुवाउन सचेतना अभियान थालेका छन्। केही कलेज क्यान्टिनहरूले पनि रमपम चाउचाउ बिक्री बन्द गर्ने निर्णय गरेका छन्।
उपभोक्तालाई चाउचाउ खरिद वा सेवन गर्दा ब्याच नम्बर अनिवार्य रूपमा जाँच्न, शंकास्पद उत्पादन भेटिए सम्बन्धित निकायमा जानकारी गराउन र सरकारले पनि बजार अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने आवाज उठ्न थालेको छ।




