राष्ट्रिय विभूति भीमसेन थापाको २५२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइयो
२०८३ श्रावण ९, शनिबार १६:२७
काठमाडौं, साउन ९ — नेपालका प्रथम शक्तिशाली मुख्तियार तथा राष्ट्रिय विभूति भीमसेन थापाको २५२औँ जन्मजयन्ती शनिबार देशभर श्रद्धा, सम्मान र स्मरणका साथ मनाइएको छ।
यस अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठान र बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशन, नेपालको संयुक्त आयोजनामा काठमाडौंस्थित धरहरा परिसरमा श्रद्धाञ्जली सभा सम्पन्न भयो। कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले भीमसेन थापाको तस्बिरमा माल्यार्पण गर्दै पुष्पगुच्छा अर्पण गरी सम्मान व्यक्त गरे।
समारोहमा सहभागी वक्ताहरूले नेपालको सार्वभौमिकता, राष्ट्रिय स्वाभिमान र राज्य सुदृढीकरणमा भीमसेन थापाले पुर्याएको योगदान ऐतिहासिक रहेको उल्लेख गर्दै उनको राष्ट्रप्रतिको समर्पण आज पनि प्रेरणाको स्रोत भएको बताए।
वि.सं. १८३२ साउन ९ गते गोरखाको बोर्लाङमा जन्मिएका भीमसेन थापा साना अमरसिंह थापा र सत्यरूपाका जेठा पुत्र थिए। उनी केवल २३ वर्षको उमेरमै सरदार पदवी प्राप्त गर्न सफल भएका थिए।
अंग्रेज साम्राज्यको विस्तारवादविरुद्ध दृढतापूर्वक उभिएका भीमसेन थापाले नेपालको स्वतन्त्रता र राष्ट्रिय अस्मिताको रक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। बन्दी जीवनका क्रममा वि.सं. १८९६ साउन ८ गते आत्मबलिदानको प्रयास गरेपछि आठ दिनपछि उनको निधन भएको इतिहासमा उल्लेख छ।
नेपालको राष्ट्रनिर्माण, स्वाधीनता र राष्ट्रिय गौरवमा पुर्याएको अमूल्य योगदानको सम्मानस्वरूप प्रत्येक वर्ष उनको जन्मजयन्ती विभिन्न कार्यक्रममार्फत स्मरण गरिँदै आएको छ।




