स्वास्थ्य बिमा बोर्डको नेतृत्वमा जनस्वास्थ्यविद् डा. सुवास प्याकुरेल
२०८३ श्रावण १४, बिहीबार ११:३४
काठमाडौं, साउन १४। सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा जनस्वास्थ्यविद् डा. सुवास प्याकुरेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा खाद्य मन्त्री निशा मेहताको निर्णयअनुसार नियुक्त भएका डा. प्याकुरेलले बिहीबार बिहान पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
शपथ ग्रहण कार्यक्रममा स्वास्थ्य तथा खाद्य मन्त्री मेहताको उपस्थिति रहेको थियो। शपथसँगै डा. प्याकुरेलले स्वास्थ्य बिमा बोर्डको नेतृत्व औपचारिक रूपमा सम्हालेका छन्।
जनस्वास्थ्य क्षेत्रमा लामो अनुभव हासिल गरेका डा. प्याकुरेलको नियुक्तिसँगै स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउने अपेक्षा गरिएको छ। पछिल्लो समय स्वास्थ्य बिमा कार्यक्रम सेवा प्रवाह, दाबी भुक्तानी र संस्थागत व्यवस्थापनका विषयमा विभिन्न चुनौती सामना गरिरहेको अवस्थामा नयाँ नेतृत्वबाट सुधारको आशा गरिएको छ।
सरकारले स्वास्थ्य बिमा प्रणालीलाई नागरिकमैत्री, दिगो र विश्वासिलो बनाउने लक्ष्यका साथ नेतृत्व परिवर्तन गरेको जनाएको छ। अब डा. प्याकुरेलको नेतृत्वमा बोर्डले बिमा सेवाको गुणस्तर अभिवृद्धि, स्वास्थ्य संस्थासँगको समन्वय र सेवाग्राहीको पहुँच विस्तारलाई प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ।




