नेपालमा आज मधेशको प्रदर्शन बाहिरी रूपमा धर्मको नाममा भइरहेको जस्तो देखिए पनि यसको वास्तविक द्वन्द्वको मुख्य कारण के हो भन्ने निश्चित रूपमा भन्न सकिँदैन। तर एउटा कुरा भने स्पष्ट देखिन्छ—आज जुन विषयले मानिसलाई सबैभन्दा धेरै उत्तेजित गर्न सक्छ, त्यही विषय आन्दोलनको आधार बन्छ। जसले जनभावनामा सबैभन्दा प्रभावकारी रूपमा खेल्न सक्छ, उसैले त्यही मुद्दा निर्माण गर्छ, त्यसलाई निरन्तर उचालिरहन्छ र समाजमा फैलाइरहन्छ।

यस्ता मुद्दाहरू समयअनुसार फेरिन्छन्। कहिले जातका नाममा, कहिले धर्मका नाममा, कहिले भाषा वा क्षेत्रका नाममा, कहिले युवा र वृद्धबीचको पुस्तागत विभाजनका नाममा, त कहिले अन्य कुनै पनि यस्ता विषयका नाममा जसले समाजमा अविश्वास, ध्रुवीकरण र द्वन्द्व सिर्जना गर्न सक्छ। मुद्दा परिवर्तन भइरहन्छ, तर समाजलाई विभाजित गर्ने प्रवृत्ति भने उस्तै रहन्छ।

समग्र रूपमा हेर्दा आन्दोलनको प्रकृतिमा पनि एउटा क्रमिक परिवर्तन आएको देखिन्छ। पहिलेका आन्दोलनहरू कुनै संस्था, व्यवस्था वा सरकारविरुद्ध केन्द्रित हुन्थे। ती सरकार र जनताबीचका संघर्ष हुन्थे, व्यक्तिगत रूपमा कुनै व्यक्तिलाई निशाना बनाइँदैनथ्यो। असहमति नीति र व्यवस्थासँग हुन्थ्यो, व्यक्तिसँग होइन।

तर बिस्तारै आन्दोलनहरू व्यक्ति–केन्द्रित बन्दै गए। यसको उदाहरणका रूपमा गत वर्षको Gen Z आन्दोलनलाई लिन सकिन्छ। त्यसबेला गाउँको सामान्य वडा सदस्यदेखि प्रधानमन्त्रीसम्म विभिन्न तहका राजनीतिक नेतृत्व व्यक्तिगत रूपमा निशानामा परे। घरमा आक्रमण गर्ने, घर जलाउने, कुटपिट गर्ने जस्ता कार्यहरूलाई समेत सामाजिक सञ्जालमा केही व्यक्तिहरूले गर्वका साथ प्रस्तुत गरे, र धेरैले त्यसलाई समर्थन वा प्रशंसा गरेको देखियो।मेरो विचारमा, यस्ता व्यवहारलाई सामान्यीकरण गरिँदा त्यसले हिंसाप्रतिको सामाजिक स्वीकार्यता बढाउने जोखिम हुन्छ।

आज मधेश आन्दोलनका क्रममा सर्वसाधारणका घरहरू जलाइएका समाचारहरू पनि आएका छन्। मलाई लाग्छ, यो त्यही प्रवृत्तिको अर्को रूप हुन सक्छ। “घर जलाउँदा पनि केही फरक पर्दैन” भन्ने मनोवैज्ञानिक स्वीकार्यता र दण्डहीनताको (impunity) भावना विस्तार हुँदै जाँदा यस्ता घटना दोहोरिने सम्भावना पनि बढ्न सक्छ।

अर्को महत्वपूर्ण पक्ष सुरक्षा निकायहरूप्रतिको सार्वजनिक विश्वास हो। २०६२/६३ को आन्दोलनपछि नेपाल प्रहरी आन्दोलन व्यवस्थापनका सन्दर्भमा व्यापक आलोचनाको केन्द्र बन्यो। त्यसपछिका वर्षहरूमा सशस्त्र प्रहरी बल पनि आन्दोलन नियन्त्रण र व्यवस्थापनका विषयमा आलोचित भयो, विशेष गरी पछिल्लो Gen Z आन्दोलनपछि यसबारे थप बहस भयो। अहिले मधेश आन्दोलन व्यवस्थापनका लागि नेपाली सेना पनि परिचालित भएको अवस्था छ। 

मेरो बुझाइमा, यदि आन्दोलन व्यवस्थापन गर्ने प्रत्येक सुरक्षा निकाय क्रमशः विवादको केन्द्र बन्दै गयो भने, भविष्यमा राज्यसँग आन्दोलन व्यवस्थापन गर्ने प्रभावकारी र सर्वस्वीकार्य संयन्त्र कमजोर हुन सक्ने जोखिम रहन्छ।

आजको मधेश आन्दोलनलाई केवल धर्म वा तत्काल देखिएको घटनाका आधारमा मात्र हेर्नु पर्याप्त हुँदैन। 

यसको सामाजिक, मनोवैज्ञानिक र संस्थागत प्रभावबारे पनि गम्भीर बहस आवश्यक छ। यदि हामीले अहिले नै आवेगभन्दा माथि उठेर धैर्यका साथ यसको कारण, प्रवृत्ति र सम्भावित परिणामबारे छलफल गरेनौँ भने, नेपालको भौगोलिक अखण्डता कायम रहे पनि समाजभित्रको विश्वास, सहअस्तित्व र संस्थागत स्थायित्वमा दीर्घकालीन चुनौती आउन सक्छ।

त्यसैले आजको आवश्यकता आवेगभन्दा धैर्य, आरोपभन्दा विश्लेषण, प्रतिक्रियाभन्दा विवेकपूर्ण बहस र विभाजनभन्दा राष्ट्रिय एकतालाई प्राथमिकता दिने सोच हो। समाजलाई विभाजित गर्न धेरै समय लाग्दैन, तर विभाजित समाजलाई पुनः विश्वास र एकतामा जोड्न दशकौँ लाग्न सक्छ।
 

( प्रस्तुत दृष्टिकोण अमेरिका रहि विद्यावारिधि अध्यनरत लेखक कौस्तुभराज न्याैपानेका निजी विचार हुन्)