जनकपुरमा सरकार र हिन्दु धार्मिक मोर्चाबीच सहमति, आन्दोलन स्थगित
२०८३ श्रावण १७, आईतवार १२:५७
जनकपुरधाम, साउन १७। सुनसरी घटनापछि विभिन्न १३ बुँदे माग राख्दै आन्दोलनरत संयुक्त हिन्दु धार्मिक मोर्चा र सरकारबीच जनकपुरमा सहमति भएको छ। गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष पहलमा भएको दुई चरणको वार्तापछि दुवै पक्ष सहमतिमा पुगेका हुन्।
सहमतिअनुसार मोर्चाले अघि सारेका १३ मागमध्ये १२ बुँदामा सरकारले तत्काल आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ। नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागका विषयमा भने थप छलफल र राजनीतिक परामर्शका लागि सरकारले तीन महिनाको समय मागेको र त्यसमा आन्दोलनरत पक्षले सहमति जनाएको बताइएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता भूदेव झाले वार्ता सफल भएको पुष्टि गर्दै दुवै पक्षले सहमतिलाई कार्यान्वयनमुखी बनाउने बताएका छन्।
वार्तामा जनकपुर उपमहानगरपालिकाका प्रमुख, संघीय सांसद, मधेश प्रदेश सरकारका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
यस सहमतिसँगै आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित भएका छन्। सरकारले सहमतिका बुँदाहरू कार्यान्वयनमा लैजाने प्रक्रिया सुरु गर्ने जनाएको छ भने आन्दोलनरत पक्षले पनि शान्तिपूर्ण संवादमार्फत बाँकी विषय टुंग्याउने विश्वास व्यक्त गरेको छ।
यो सहमतिलाई पछिल्ला दिनमा मधेश क्षेत्रमा देखिएको तनाव कम गर्दै सामाजिक सद्भाव र संवादको वातावरण पुनःस्थापित गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।




