काठमाडौं, साउन १९ — सरकारले आर्थिक सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने तयारीस्वरूप अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग उच्चस्तरीय छलफल गर्दैछन्।

अर्थ मन्त्रालयमा दिउँसो ३ बजे हुने बैठकमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गमा सूचीकृत सबै २० वाणिज्य बैंकका सीईओ सहभागी हुनेछन्।

छलफलमा सरकारले बजेटमार्फत घोषणा गरेका आर्थिक सुधारका कार्यक्रमको कार्यान्वयन, निजी क्षेत्रको लगानी वातावरण, कर्जा प्रवाह, वित्तीय बजारको वर्तमान अवस्था तथा बैंकिङ क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउन खेल्नुपर्ने भूमिकाबारे गम्भीर विमर्श हुने अपेक्षा गरिएको छ।

अर्थ मन्त्रालयका अनुसार बैंकिङ क्षेत्रसँग प्रत्यक्ष संवाद गर्दै नीतिगत सुधारलाई व्यवहारमा उतार्ने उद्देश्यले बैठक आयोजना गरिएको हो। पछिल्लो समय आर्थिक गतिविधि विस्तार, लगानी वृद्धि तथा वित्तीय प्रणालीलाई थप सुदृढ बनाउने सरकारी प्रयासका बीच यो छलफललाई अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिएको छ।

सरकार र बैंकिङ क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने तथा निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने दिशामा यस बैठकबाट आवश्यक सुझाव र निष्कर्ष आउने अपेक्षा गरिएको छ।