प्रधानमन्त्री र सुदूरपश्चिमका रास्वपा सांसदबीच छलफल, राजनीतिक समन्वयमा जोड
२०८३ श्रावण १९, मंगलवार १२:१३
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बिहानदेखि सुरु भएको छलफलमा केन्द्र र प्रदेशबीचको समन्वय, सुदूरपश्चिमका विकास प्राथमिकता तथा वर्तमान राजनीतिक अवस्थाबारे विचार आदानप्रदान भएको जनाइएको छ।
बैठकमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी रहेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेको छ। यद्यपि बैठकका निष्कर्ष वा थप निर्णयबारे औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
यस भेटलाई सरकार र सत्तापक्षीय सांसदबीच राजनीतिक संवादलाई निरन्तरता दिने प्रयासका रूपमा समेत हेरिएको छ। आगामी राजनीतिक एजेन्डा, प्रदेशका विकास आयोजना र संसद्को कार्यसूचीसँग सम्बन्धित विषयमा समेत छलफल भएको अनुमान गरिएको छ।




