कांग्रेसको सामूहिक बहिर्गमनसँगै कोशी सत्ताको नयाँ अध्याय
२०८३ श्रावण २७, बुधबार २१:५३
विराटनगर, २७ श्रावण २०८३। विराटपाटी
कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा दिएसँगै प्रदेशको सत्ता समीकरणले नयाँ मोड लिएको छ।
कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गरेका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बु, उद्योग, कृषि तथा सहकारी मन्त्री इसराइल मन्सुरी र राज्यमन्त्री शोभा चेम्जोङ पालुङ्वाले बुधबार मुख्यमन्त्री हिक्मत कुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।
मन्त्रीहरूको राजीनामासँगै कांग्रेस औपचारिक रूपमा कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। यसअघि नै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको थियो। तर, समर्थन फिर्ता लिएपछि पनि कांग्रेसका मन्त्रीहरू सरकारमा कायम थिए।
कांग्रेसको बहिर्गमनलाई केवल मन्त्रीहरूको राजीनामाका रूपमा मात्र नभई प्रदेशको आगामी राजनीतिक शक्ति-सन्तुलनको संकेतका रूपमा हेरिएको छ। एमाले र नेकपाबीच प्रदेश सरकार गठनका विषयमा भएको तीनबुँदे सहमतिपछि कांग्रेस सरकारबाट अलग हुने प्रक्रिया अघि बढेको थियो।
राजीनामापछि भौतिक पूर्वाधार विकास मन्त्री सुनुवारले लोकतन्त्रमा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने भएकाले कांग्रेस सरकारबाट बाहिरिएको प्रतिक्रिया दिएका छन्।
अब कांग्रेस प्रतिपक्षमा पुगेपछि कोशी प्रदेशसभाभित्र सरकारको स्थायित्व, नयाँ सत्ता गठबन्धनको संरचना र आगामी राजनीतिक रणनीतिबारे बहस थप तीव्र हुने देखिएको छ। कांग्रेसको बहिर्गमनले मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वको सरकारलाई नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नुपर्ने अवस्था सिर्जना गरेको छ।
कांग्रेसको सरकारबाट बहिर्गमनसँगै कोशीको राजनीति अब सरकारमा को छ भन्ने प्रश्नभन्दा पनि आगामी सत्ता-समीकरण कता जान्छ भन्ने प्रश्नतर्फ केन्द्रित भएको छ।




