महोत्तरी विराटपाटी ,औरही नगरपालिकामा आर्थिक वर्ष २०७९/८० मा ह्याण्डपम्प तथा ट्युबवेल (चापाकल) खरिद र वितरणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका अनुसार एउटै प्रकृतिका सामान खरिदलाई पटक–पटक टुक्र्याएर ‘प्रोक्योरमेन्ट स्प्लिटिङ’ गरिएको, प्रतिस्पर्धा सीमित गरिएको तथा बोलपत्रबाट गर्नुपर्ने खरिदलाई सिलबन्दी दरभाउपत्र र सोझै खरिदमार्फत गरिएको थियो।

लागत अनुमान तयार गर्दा  कन्ट्याक्ट्रर ओभरहेडका नाममा १५ प्रतिशत थप गरिएको र खरिद गरिएका सामग्रीको दोहोरो भरपाईसमेत तयार गरिएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथलीविरुद्ध ३६ लाख १३ हजार ३१ रुपैयाँ, इन्जिनियर सन्तोष कुमार यादव र सब–इन्जिनियर बिपिन कुमार मण्डलविरुद्ध जनही २० लाख ४९ हजार ४५० रुपैयाँ बिगो कायम गरेको छ।

त्यस्तै, तत्कालीन लेखापाल बिजय कुमार यादव र योजना शाखा प्रमुख गंगाराम यादवविरुद्ध जनही ३६ लाख १३ हजार ३१ रुपैयाँ तथा जिन्सी शाखा प्रमुख शिव शंकर यादवविरुद्ध १५ लाख ६३ हजार ५८१ रुपैयाँ बिगो कायम गरिएको छ।

खरिदमा संलग्न विभिन्न आपूर्तिकर्ता तथा सञ्चालकविरुद्ध पनि बिगो कायम गर्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत सजायको मागदाबी गरेको छ।

आयोगले सरकारी रकम तथा सार्वजनिक खरिद प्रक्रियामा भएको अनियमितताबाट राज्यलाई आर्थिक क्षति पुगेको निष्कर्ष निकाल्दै सम्बन्धित कर्मचारी तथा आपूर्तिकर्तालाई कानुनबमोजिम कारबाही गर्न माग गरेको जनाएको छ।

उक्त आरोपबारे अन्तिम फैसला भने विशेष अदालतको न्यायिक प्रक्रियापछि मात्र हुनेछ।