कांग्रेसको वडा अधिवेशन २२ दिन पछि सर्यो
२०८३ भाद्र २, मंगलवार २१:३८
काठमाडौं, भदौ २। नेपाली कांग्रेसले १५औँ महाधिवेशनको पूर्वनिर्धारित मिति यथावत राख्दै पार्टीका तल्लो तहका अधिवेशनको कार्यतालिका हेरफेर गरेको छ।
संशोधित कार्यतालिकाअनुसार वडा अधिवेशन अब भदौ २४ गते हुनेछ। यसअघि भदौ २ गते वडा अधिवेशन गर्ने निर्णय गरिएको थियो।
कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार असन्तुष्ट समूहसँग संवाद, सहमति र सहभागिता बढाउन थप समय आवश्यक भएकाले वडा अधिवेशन २२ दिन पछि सारिएको हो। उनका अनुसार सदस्यतासम्बन्धी काम बाँकी भएर नभई असन्तुष्ट पक्षसँग संवादका लागि समय निकालिएको हो।
नयाँ कार्यतालिकाअनुसार भदौ २७ गते गाउँ–नगर सम्मेलन, भदौ ३१ गते प्रदेश सभा क्षेत्रीय सम्मेलन, असोज ३ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, असोज ६ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश सम्मेलन हुनेछन्।
कांग्रेसको १५औँ महाधिवेशन भने पूर्वनिर्धारित कार्यक्रमअनुसार असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने बताइएको छ।
पार्टी नेतृत्वले महाधिवेशनअघि असन्तुष्ट समूहसँग संवाद गरी सहमति र सहभागिता बढाउने प्रयासलाई प्राथमिकतामा राखेको जनाएको छ।




