रविको कडा सन्देश: मर्यादा नाघेर ‘रमिता’ नदेखाउनुस्
२०८३ भाद्र ३, बुधबार २२:२३
रास्वपा सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदलाई आफ्नो कार्यशैली सुधार्दै मर्यादित, पारदर्शी र परिणाममुखी ढंगले काम गर्न निर्देशन दिएका छन्।
बुधबार भएको छलफलमा उनले मन्त्री र सांसदबीच समन्वय कमजोर हुँदै गएको तथा कतिपय सांसदका गतिविधिले पार्टीकै छवि प्रभावित हुन थालेको भन्दै गम्भीर बन्न आग्रह गरे।
लामिछानेले सांसदहरूलाई संसद् बैठक नियमित रूपमा उपस्थित हुन, आफ्नो भूमिकाअनुसार जिम्मेवार व्यवहार गर्न र आफूले उठाउने प्रश्नबारे सभापतिलाई समेत जानकारी गराउन निर्देशन दिए।
उनको जोड भने स्पष्ट थियो, जनताले प्रचार होइन, परिणाम खोजेका छन्।
सांसद तथा मन्त्रीहरूले आफ्ना भेटघाट, भ्रमण र राजनीतिक गतिविधि पार्टीको ‘आरएसपी पल्स’ एपमा नियमित रूपमा अद्यावधिक गर्नुपर्ने उनको भनाइ थियो।
आपसी संवाद र समन्वय बढाउन आग्रह गर्दै लामिछानेले अहंकार त्यागेर पार्टी, सरकार र जनताबीच प्रभावकारी सम्बन्ध बनाउनुपर्ने बताए।
उनले पाँच वर्षका लागि मात्र राजनीति गर्ने मानसिकता राख्नेहरूलाई समेत चेतावनी दिँदै दीर्घकालीन राजनीतिक संस्कार र जिम्मेवारीका साथ अघि बढ्नुपर्ने धारणा राखे।
बैठकले रास्वपा संघीय संसदीय दलको विधान संशोधनका लागि कबिन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ।




