प्रेस काउन्सिलका चार नयाँ सदस्यले लिए सपथ
२०८३ भाद्र ३, बुधबार २२:३६
काठमाडौं, भदौ ३। प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले बुधबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।
सञ्चारग्रामस्थित प्रेस काउन्सिलमा आयोजित कार्यक्रममा काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले नवनियुक्त सदस्यहरू नम्रता शर्मा, प्रकाशभक्त माथेमा, रविराज बराल र उपासना घिमिरेलाई सपथ ग्रहण गराएका हुन्।
सपथ ग्रहणपछि अध्यक्ष श्रेष्ठले पत्रकारिता क्षेत्रका अनुभवी व्यक्तिहरू काउन्सिलमा सदस्यका रूपमा आएको उल्लेख गर्दै आगामी दिनमा पत्रकारिता क्षेत्रको सुधार र संस्थागत परिवर्तनका लागि प्रभावकारी काम गर्नुपर्ने बताए।
कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले प्रेस काउन्सिलको संस्थागत संस्कार, भूमिका तथा कार्यप्रणालीबारे नवनियुक्त सदस्यहरूलाई जानकारी गराएका थिए।
नवनियुक्त सदस्यहरूलाई काउन्सिलका ऐन, कानुन, विनियमावली तथा कार्यविधिसहित आवश्यक सामग्रीसमेत हस्तान्तरण गरिएको थियो।
प्रेस काउन्सिलले पत्रकारिताको मर्यादा, आचारसंहिता तथा सञ्चारमाध्यमको जिम्मेवारीलाई थप प्रभावकारी बनाउने भूमिकामा नयाँ सदस्यहरूको अनुभव उपयोगी हुने अपेक्षा गरेको छ।




