Oplus_131072

काठमाडौं, भदौ ५। नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद थप पेचिलो बनेको छ। महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काको तर्फबाट सर्वोच्च अदालत पुगेको रिट निवेदन भने दर्ता हुन सकेन।

देउवा र खड्काको तर्फबाट वारेस अनुमति लिएर नेता दीपक खड्का तथा अधिवक्ता श्रवणकुमार श्रेष्ठ सर्वोच्च पुगेका थिए। तर, सर्वोच्च प्रशासनले निवेदनमाथि थप अध्ययन आवश्यक रहेको भन्दै तत्काल दर्ता नगरेको कांग्रेसका एक नेताले जानकारी दिएका छन्।

कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। तर, महाधिवेशनको प्रक्रिया एकपक्षीय ढंगले अघि बढाइएको भन्दै संस्थापनइतर समूहले आपत्ति जनाउँदै आएको छ।

यसअघि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै सो समूहले सर्वोच्च अदालतमा पुनरावेदन निवेदनसमेत दिएको थियो। उक्त विषयमा सर्वोच्चले पुनः सुनुवाइ गर्ने आदेश दिइसकेको छ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेसभित्रको आन्तरिक विवाद अदालतसम्म पुगेपछि अब सर्वोच्चको अध्ययन र आगामी आदेशलाई चासोका साथ हेरिएको छ।

कांग्रेसको १५औँ महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार अघि बढ्छ कि अदालतको आदेशले नयाँ मोड लिन्छ?