३५औँ नेपाली भाषा मान्यता दिवस सम्पन्न, स्मारिका ‘भाषा’ लोकार्पण
२०८३ भाद्र ५, शुक्रबार १८:२१
मेथिबारी–सालबारी विराटपाटी, नेपाली भाषा संस्कृति विकास समिति मेथिबारी–सालबारीको आयोजनामा ३५औँ नेपाली भाषा मान्यता दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ। समितिसँग आबद्ध आसपासका ५७ वटा संघ–संस्था तथा समाजको सहकार्यमा आयोजित कार्यक्रममा स्मारिका ‘भाषा’ को समेत लोकार्पण गरिएको छ।
नेपाली भाषा र संस्कृतिको संरक्षण, संवर्द्धन तथा विकासका लागि प्रत्येक वर्ष आयोजना हुँदै आएको भाषा मान्यता दिवसका अवसरमा विभिन्न सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।
समितिले भाषा मान्यता दिवसको मञ्चलाई प्रत्येक वर्ष नेपाली भाषा तथा संस्कृतिको क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वको नाममा समर्पण गर्दै आएको छ। यस वर्षको मञ्च सिक्किमका पूर्वमुख्यमन्त्री तथा नेपाली भाषा संग्रामी नरबहादुर भण्डारीप्रति समर्पित गरिएको थियो।
कार्यक्रममा नेपाली भाषाको संरक्षण, विकास र पुस्तान्तरणका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइएको थियो। सहभागीहरूले नेपाली भाषा र संस्कृतिको मौलिकता जोगाउँदै भावी पुस्तासम्म यसको गौरवपूर्ण इतिहास र पहिचान हस्तान्तरण गर्नुपर्ने धारणा व्यक्त गरे।

समितिसँग आबद्ध विभिन्न संघ–संस्था तथा समाजहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप भव्य र प्रभावकारी बनाएको आयोजकले जनाएको छ। स्मारिका ‘भाषा’ ले नेपाली भाषा, साहित्य, संस्कृति र सामाजिक गतिविधिलाई अभिलेखीकरण गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरिएको छ।




