काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई प्रधानमन्त्री बन्ने अवसर आए पनि पदको मोहमा नलागेको दाबी गरेका छन्।

आइतबार आयोजित पार्टीको नीति, संगठन तथा नेतृत्वसम्बन्धी कार्यशालामा बोल्दै लामिछानेले आफू २१ सिटको दलको नेतृत्वमा रहेका बेला प्रधानमन्त्री बन्ने प्रस्ताव आएको बताएका हुन्।

उनका अनुसार प्रधानमन्त्री बन्नका लागि आफ्नो हस्ताक्षर मात्र आवश्यक पर्ने अवस्थामा प्रस्ताव आएको थियो। तर, तत्काल प्रधानमन्त्री बनेर छोटो समय सरकारको नेतृत्व गर्नुभन्दा आन्दोलन र जनताको अपेक्षालाई प्राथमिकता दिएको उनको भनाइ छ।

लामिछानेले भने, “म भइहालेको भए दुई–चार महिनाको प्रधानमन्त्री हुन्थेँ होला। धेरै नै भए सिंहदरबारमा एउटा तस्वीर टाँसिन्थ्यो होला।”

उनले आफूले व्यक्तिगत राजनीतिक लाभभन्दा देशमा भएको आन्दोलन, त्यसले जन्माएको आशा र युवाप्रतिको अपेक्षालाई महत्वपूर्ण ठानेको बताए।

प्रधानमन्त्री पदको प्रस्ताव अस्वीकार गरेको प्रसंग उल्लेख गर्दै लामिछानेले आफूले पदलाई ठूलो उपलब्धिका रूपमा नलिएको स्पष्ट पारे। उनले आफूले प्रधानमन्त्री बन्ने अवसरलाई ‘हाँसीहाँसी नमस्कार’ गरेको बताए।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई आवश्यक पर्दा व्यक्तिगत स्वार्थ त्याग्न तयार रहन पनि आग्रह गरे। उनका अनुसार राजनीतिमा सबै अवस्थामा केही गर्न नसकिए पनि कम्तीमा नराम्रो काम नगर्ने प्रतिबद्धता आवश्यक हुन्छ।

“केही गर्न सकिँदैन भने पनि नराम्रो केही नगर्न सकिन्छ,” लामिछानेले कार्यकर्तालाई भने।

लामिछानेको पछिल्लो अभिव्यक्तिले रास्वपाले आगामी राजनीतिक यात्रामा पदभन्दा नीति, संगठन र जनअपेक्षालाई प्राथमिकतामा राख्ने सन्देश दिन खोजेको देखिन्छ।